काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ सेन्ट्रो बिक्री–वितरण सुरु गरेको छ । नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालि र हुन्डाई मोटरको सहकार्यको १० वर्ष भएको अवसरमा हुन्डाईले ‘अल न्यू सेन्ट्रो’को तीन भेरियन्ट म्याग्ना, स्पोट्ज र आस्टा नेपाली बजारमा सार्वजनिक गरेको हो ।
हुन्डाईको बी–सेग्मेन्ट इन्ट्रीलेवल मोडल सेन्ट्रो यसअघि पनि धेरैपटक परिमार्जन गरिएको थियो । भारतीय प्लान्टको पहिलो उत्पादनको रुपमा सन् १९९८ मा आएको सेन्ट्रो २०१३ बाट भने उत्पादन बन्द भएको थियो ।
नेपाली बजारमा २०१४ बाट सेन्ट्रो बिक्री–वितरण बन्द भएको हो । नेपाली बजारमा निकै चर्चामा रहेको हुन्डाईको फ्यामली कार नेपालमा पुनः आएको छ ।
कम्पनीले पुरानो मोडलको उत्पादन बन्द गरेको पाँच वर्षपछि अल न्यू सेन्ट्रोलाई नेपाली बजारमा उतारेको हो ।
त्यस्तोमा हामीले पुरानो सेन्ट्रो जीएलएस र नयाँ सेन्ट्रो म्याग्ना भेरियन्टबीच तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।

डिजाइन
नयाँ र पुरानो दुबै मोडलमा स्पोर्टी टलबोई डिजाइन दिइएको छ । पुरानो सेन्ट्रोमा सोबर–ट्रिपल स्लट फ्रन्ट ग्रिल लगाइएको थियो भने नयाँ मोडलमा क्यासकेडिङ्ग ग्रिल दिइएको छ ।
पुरानो सेन्ट्रोमा रेक्ट्याङ्गुलर हेडल्याम्प लगाइएको थियो भने यसमा ग्रान्ड आई–१० को जस्तै अप्सस्वीपट हेडल्याम्प दिइएको छ ।
डायमेन्सन
पुरानो मोडलको लम्बाई ३ हजार ५६५ एमएम, चौडाई १ हजार ५२५ एमएम र उचाई १ हजार ५९० एमएम रहेको थियो भने ह्वील वेस २ हजार ३८० एमएम रहेको थियो ।

नयाँ सेन्ट्रोको लम्बाई ३ हजार ६१०, चौडाई १ हजार ६४५ र उचाई १ हजार ५६० एमएम रहेको थियो । यसमा २ हजार ४०० एमएमको ह्वीलवेश दिइएको छ । यसले लम्बाई, चौडाई र ह्वील वेसमा नयाँ सेन्ट्रो अगाडि छ भने उचाइ पुरानो सेन्ट्रोको धेरै रहेको छ । नयाँ सेन्ट्रोमा १४ इन्चको ह्वील दिइएको छ भने पुरानोमा १३ इन्चको ह्वील लगाइएको थियो ।
इन्जिन
नयाँ सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम–टर्क जेनेरेट गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल गियरबक्स दिइएको छ । हुन्डाईले सेन्ट्रोलाई पहिलोपटक एएमटी ट्रान्समिसनमा समेत ल्याएको छ ।
पुरानो सेन्ट्रोमा समान इन्जिन दिइएको थियो । जसले ६३ पीएस पावरकासाथै ९८ एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल ट्रान्समिसन दिइएको छ । पावरको हिसावले हेर्दा पुरानोको तुलनामा नयाँ सेन्ट्रो पावरफुल रहेको छ ।
मूल्य
नेपाली बजारमा मध्यमवर्गीय परिवारको पहिलो रोजाईमा परेको यो कार अझै निकै बाक्लोरुपमा सडकमा गुडिरहेको पाउन सकिन्छ । पुरानो सेन्ट्रो संसारभर १८ लाख ५० हजार युनिट बिक्री भएको थियो ।
सन् २०१४ मा नेपाली बजारमा बिक्री गरिएको पुरानो सेन्ट्रो जीएलएसको मूल्य १९ लाख ६६ हजार रुपैयाँ थियो भने, अहिले नेपाली बजारमा आएको नयाँ सेन्ट्रो म्याग्ना भेरियन्टको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
इन्फोटेनमेन्ट सिस्टम
पुरानो मोडलमा सिम्पल सिङ्गल–डीआईएन अडियोसँगै एयूएक्स र यूएसबी कनेक्टिभीटीको सुविधा दिएको थियो । नयाँ सेन्ट्रोमा ७ इन्च टचस्क्रिन युनिट दिइएको छ । जसले नेभिगेसन, फोन, यूएसबी कनेक्टिभीटीलगायतको सुविधा दिइएको छ ।
सुरक्षा फिचर
पुरानो सेन्ट्रोमा सुरक्षाको लागि सिट–बेल्ट, डे–नाइट आइआरभीएम, किलेस इन्ट्री, स्पीड–सेन्सिङ डोर–लक र ईमो–विलाइजरको विशेषता दिएको थियो ।

नयाँ सेन्ट्रोमा पुरानामा भएका फिचरका अलावा एबीएस, ईबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन ईमोबिलाइजर, रियर पार्किङ क्यामेरा वीथ सेन्सर, फगल्याम्प, चाइल्ड–सेफ्टी, डोर–लकजस्ता सेफ्टी फिचर दिइएको छ ।
निस्कर्ष
हुन्डाई सेन्ट्रो अघिल्लो मोडलको तुलनामा निकै सुरक्षित र परिष्कृत शोरुपमा आएको छ । करिब ५ वर्षपछि नयाँ रुपमा आएको सेन्ट्रोलाई उत्कृष्ट इन्टेरियर र एक्स्टेरियरमा ल्याउन कोषिश गरेको देखिन्छ । तुलनात्मक रुपमा केही महंगो जस्तो देखिएको नयाँ सेन्ट्रो प्रतिस्पर्धी मोडलहरु भन्दा महंगो भने छैन ।
पुरानोको तुलनामा थप भएका सुरक्षा फिचर, इन्फोटेन्टमेन्ट सिस्टम र परिष्कृत फिचरका कारण मूल्यमा परिर्वतन भएको छ । भारतीय बजारमा म्याग्नामा इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छैन, तर नेपाली बजारमा उपलब्ध म्याग्ना भेरियन्टमा सोनीको सिस्टम जडान भएको छ ।
साथै, कम्पनीले तोकेको अधिकतम खुद्रा बिक्री मूल्यमा दिने छुट, उत्कृष्ट पावर, सेन्ट्रोको पुरानो लिगेसीलगायतले नयाँ सेन्ट्रो मध्यम वर्गिय परिवारको रोजाईमा आज पनि पर्न सक्छ ।

