दुई सस्तो स्कुटरको विक्री सुरु हुँदै, रेन्ज १०० किलोमिटर

काठमाडौं । जम्बो मोटर्स प्रालिले नेपाली बजारमा ओपाई ब्राण्डको दुई नयाँ इलेक्ट्रीक स्कुटर भित्र्याउने भएको छ । कम्पनीले ओपाई वाईडब्ल्यू ०६ र वाईडब्ल्यू ०३ स्कुटर आगामी सातादेखि विक्री सुरु गर्ने तयारी गरेको हो ।

‘भन्सारको काम सकिएको छ । अर्को सातादेखि आपाईका दुई नयाँ मोडलका स्कुटर विक्री गर्ने तयारी मा छौं । यी स्कुटर कम मूल्यका र १०० किलोमिटरसम्म रेन्ज दिने छन्’, जम्वो मोटर्सका निर्देशक विनोद न्यौपानेले मेरोअटोसँग भने ।

ओपाई वाइडब्ल्यू ०६ र ०३ मा २.५ किलोवाट पिक पावरको मोटर रहेको छ । यसमा ७२ भोल्ट २८ एम्पायरको ग्राफिनी ब्याट्री प्रयोग गरिएको छ । यो स्कुटरको टप स्पीड ५५ किलोमिटर प्रति घण्टाको रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले यो स्कुटरको ओपाई वाइडब्ल्यू ०६ को मूल्य एक लाख ८२ हजार र वाइडब्ल्यू ०३ को मूल्य १ लाख ७५ हजार रुपैयाँ तोकेको छ ।

यो स्कुटरको ब्याट्रीमा एक वर्षको वारेन्टी रहेको छ भने मुख्य विशेषतामा की–लेस स्टार्ट, डिजिटल क्लस्टर, डिस्क ब्रेक, एलईडी लाइट्स जस्ता फिचर पाउन सकिन्छ ।

जम्वो मोटर्सले केही दिन अघि मात्रै एक पटकको फुलचार्जमा २४० किलोमिटरसम्म चलाउन सकिने जम्वो ब्राभो इलेक्ट्रीक स्कुटरको टेष्ट ड्राइभ कार्यक्रम गरेको थियो । जम्वो मोटर्स प्रालिले लेभनिङ, ओपाइ, जम्वो इलेक्ट्रीक ब्राण्डका स्कुटर लगायत अन्य ब्राण्डका इलेक्ट्रीक रिक्सासमेत आयात गर्दै आएको छ ।


Back_to_top