ओरा इलेक्ट्रीकमा एकै पटक घट्यो ५ लाख मूल्य

काठमाडौं । ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराले नेपालमा बिक्री गर्दै आएको ओरा-थ्रीमा एकै पटक ५ लाख रुपैयाँ मूल्य घटेको छ । कम्पनीले यसअघि ४७ लाख ४९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको कारमा ५ लाख रुपैयाँले मूल्य घटाएको हो ।

ओरा थ्री किन्ने ग्राहकले ४२ लाख ९० हजारमै यसलाई खरिद गर्न सक्नेछन् । पृथक डिजाइन र आरामदायी फिचरले भरिपूर्ण ह्याचव्याक लोभलाग्दो देखिन्छ ।

फक्सवागेन विटलको झल्को दिने ओरा-थ्रीमा ४७.७८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ । उक्त ब्याट्रीलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । ओरा–थ्रीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । टर्क भने २१० न्यूटन मिटर पाउन सकिन्छ ।

ह्याचव्याक डिजाइनमा बनेको भएता पनि यो कारको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम, उचाई १६०३ एमएम तथा २६५० एमएमको ह्वीलवेस रहेको छ ।

कारलाई प्रिमियम बनाउन यसको क्याविनलाई उत्कृष्ट फिचरले भरिपूर्ण बनाइएको छ । दुुई वटा १०.२५ इन्चको डिस्प्ले प्यानल, वायरले मोवाइल चार्जिङ प्याड, सिक्सवे पावर एड्जस्ट ड्राइभर सिट, अटोडिमीङ रियरभ्यू मिरर, ३६० डिग्री क्यामरा यसमा पाउन सकिन्छ ।

कम्फर्ट र कन्भेनियन्सका लागि ओरा-थ्रीमा ठूलो र फराकिलो क्याविन, पानोरामिक सनरुफ, लेदर सिट, सिक्स-वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ फरक ड्राइभिङ मोड दिएको छ ।

सुरक्षाको लागि कम्पनीले यसमा ७ वटा एयरव्याग, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल , ट्र्याक्सन कन्ट्रोल सिस्टम , इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा फिचरहरु दिएको छ ।

क्लासिक डिजाइनमा तयार भएको ओरा-थ्रीमा १८ इन्चको अलोय ह्वील, एलइडी डीआएल, प्रोजेक्टर हेड ल्याम्प, एलइडी टेल ल्याम्प पाउन सकिन्छ ।


Back_to_top