काठमाडौं । पानीमा चल्ने ‘जेट स्की’ पनि इलेक्ट्रीक भएको छ । टाइगा मोटर्सले पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रीक ‘जेट स्की ओर्गा’ बनाएको हो ।
विश्वका धेरै कम्पनीले इलेक्ट्रीक पावरवाट चल्ने स्कुटर, मोटरसाइकल, कार, बस जस्ता साधन बनाएपनि पानीमा चल्ने जेट स्की पहिलो पटक बनाउने श्रेय टाइगा मोटर्सले पाएको हो ।
सन् २०१५ मा क्यानडामा स्थापना भएको यो कम्पनीको उद्देश्य पावर स्पोर्टस् इन्डष्ट्रिलाई इलेक्ट्रीफाई गर्नु हो । कम्पनीले जेट स्कीको साथै हिउँमा चढ्नको लागि स्नोमोवाइल पनि इलेक्ट्रीक बनाएको छ ।
टाइगा मोटर्सले बनाएको यो ओर्गा जेट स्कीमा २४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । यो जेट बोटले ९० र १६० हर्स पावर जेनेरेट गर्छ । प्रायःजसो आईसी इन्जिनबाट चल्ने जेट स्कीको १०० देखि १५० हर्स पावर हुने गर्छ । यसको विकाससँगै अब वाटर स्पोर्टस्मा प्रमुख रुपमा प्रयोग हुने जेट स्की पनि प्रदुषण रहित हुने बाटोमा प्रबेश गरेको छ ।
यस्ता साधनको कारण अब समुन्द्र तथा तलाउमा हुने वायु तथा ध्वनी प्रदुषण विस्तारै अन्त्य हुने विश्वास लिइएको छ । उत्पादनको सुरुवाती चरणमा भएका कारण यो जेटस्की आइसी इन्जिनभन्दा महँगो हुनेछ । कम्पनीले यसको मूल्य २४ हजार डलर तोकेको छ ।


