काठमाडौं । टीभीएस मोटर्सले इलेक्ट्रीक स्कुटर विक्रीलाई तिब्रता दिएको छ । कम्पनीले जुन २०२२ मा झन्डै ५ हजार यूनिट इलेक्ट्रीक स्कुटर विक्री गरेर अफ्नो ईभी विक्रीमा रेकर्ड बनाएको हो ।
यसअघि मे २०२२ मा २ हजार ६३७ यूनिट ईभी विक्री गरेको कम्पनीले जुन महिनामा ४ हजार ६६७ यूनिट स्कुटर विक्री गर्न सफल भएको हो । यो भारतको कुनै पनि कम्बस्चन उत्पादन र विक्री गर्ने चल्तीका ब्राण्डको ईभी विक्रीमा सबैभन्दा धेरै यूनिट हो ।
टीभीएस मोटर्सले केही समय अगाडि मात्रै आफ्नो एकमात्र इलेक्ट्रीक स्कुटर आईक्यूवको नयाँ भेरियन्ट बजारमा ल्याएको थियो । नयाँ भेरियन्टसँगै यसको विक्रीमा उछाल आएको हो । कम्पनीले इलेक्ट्रीक सेग्मेन्टमा ब्यापक लगानी वृद्धि गरेको छ ।
टीभीएसले सन् २०२२ को अन्त्यसम्ममा नयाँ इलेक्ट्रीक स्कुटर पनि ल्याउने तयारी गरिरहेको छ । त्यस्तै कम्पनीले टीभीएस आईक्यूवको उत्पादन २०२२ को अन्त्यसम्ममा मासिक २५ हजार यूनिट पुर्याउने लक्ष्य लिएको छ ।
नयाँ मोडलसँगै सन् २०३२ मा मासिक ५० हजार यूनिट उत्पादन क्षमता बनाउने टीभीएसले जनाएको छ । अहिले टीभीएसले आईक्यूवको तीन भेरियन्ट विक्री गर्दै आएको छ । आईक्यूव, आईक्यूव एस र आइक्यूव एसटीगरी तीन भेरियन्टमा विक्री गर्दै आएको हो ।
भारतीय बजारमा आईक्यूवको सुरुवाती मूल्य ९८ हजार ६५४ भारतीय रुपैयाँबाट सुरु हुन्छ । कम्पनीले आईक्यूव स्कुटरलाई विभिन्न १० कलर अप्सन र फुल चार्जमा १४० किलोमिटर रेन्ज दिनेगरी ल्याएको छ ।
टीभीएस आईक्यूवको वेस भेरियन्टमा ५ इन्चको कलर टीएफटी डिस्प्ले दिइएको छ । यसमा स्मार्ट कनेन्ट फिचर पनि पाउन सकिन्छ । त्यस्तै मिड भेरियन्टमा ७ इन्चको डिस्प्ले र टप भेरियन्टमा टच स्क्रीन डिस्प्ले पाउन सकिन्छ ।
आईक्यूवको सबै भेरियन्टमा समान ४.४ किलोवाट क्षमतको मोटर प्रयोग भएको छ । यसले ०-देखि ४० को स्पीड भेट्टाउन ४.२ सेकन्ड लगाउँछ । यसको टपस्पीड ८२ किलोमिटर प्रतिघन्टासम्म रहेको छ ।
नेपालमा चाँडै आउन सक्ने
टीभीएसको सफल मोडल बन्ने क्रममा रहेको आईक्यूव चाँडै नेपाल आउने जगदम्बा मोटर्सले जनाएको छ ।
‘हामी सन् २०२२ को अन्त्यसम्ममा नेपाल ल्याउनेगरी टीभीएस इन्डियासँग छलफल गरिरहेका छौं । सम्भवतको अबको केही समयपछि नेपाल आउने छ’, जगदम्बा मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।


