बाहिरी चक्रपथ निर्माणमा नयाँ समस्या, डीपीआर परिवर्तन गर्न प्रस्ताव जाँदै

काठमाडौं । २१ वर्षदेखि चर्चामा रहेको ७२ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माणमा नयाँ समस्या देखिएको छ । उपत्यका विकास प्राधिकरणको अनुसार यसअघि सडक निर्माण गर्ने भनिएको स्थानमा बस्ती बढेकाले डीपीआरमा परिवर्तन गर्नु पर्ने अवस्था आएको हो ।

प्राधिकरणले २०६४ सालमा निर्माण गरेको डीपीआर परिमार्जन गरेर बस्ती नभएको स्थानमा सडक निर्माण गर्ने योजना बनाउन लागिएको छ । तर, यसरी डीपीआर परिमार्जन गर्न पुनः विशेषज्ञ नियुक्त गर्नु पर्ने भएकाले त्यसको आवस्यक प्रक्रिया अगाडी बढाइएको छ ।

‘डीपीआर निकै पहिले बनेकाले ति स्थानमा घना वस्ती बसेका छन्, अहिले पुरानै डीपीआरमा बनाउन सकिने अवस्था छैन त्यसैले डीपीआर एलाइमेन्ट परिमार्जन गरेर नयाँ मोडालिटीमा बनाउनु पर्ने अवस्था आएको छ,’ आयोजना प्रमुख दिनेशकृष्ण पोतेले भने ।

अहिले काठमाडौं उपत्यकाको मास्टर प्लान बनाउने तयारी भएकाले त्यसैमा बाहिरी चक्रपथको एलाइमेन्ट पनि परिवर्तन गर्न लागिएको उनको भनाई छ ।

यसअघि चिनीयाँ कम्पनीले ‘इएफसी’ मोडलमा बाहिरी चक्रपथ निर्माण गर्ने योजना प्रस्तुत गरेको थियो । तर, नेपाल सरकारले इएफसी मोडलमा कुनै पूर्वाधार निर्माण नगरेकाले सहमति दिएको छैन । आफुले भने जस्तो इएफसी मोडलमा बनाउन सरकारले सर्मथन नदिएपछि चिनीयाँ कम्पनीले बाहिरी चक्रपथ निर्माणमा चासो देखाएको छैन ।

तर, योजना प्रमुख पोते भने चिनीयाँ कम्पनीले निर्माणबाट हात नझिकेको बताउँछन् ।

‘चिनीया कम्पनीले इएफसी मोडलमा बाहिरी चक्रपथ बनाउने भनेको थियो, नेपालमा त्यस मोडलमा अहिलेसम्म कुनै निर्माण भएको छैन, त्यसैले सरकारी पक्षबाटै यसमा चासो देखाइएन,’ एक इन्जिनीयरले भने ‘इएफपी मोडलमा नभए उनीहरुले लगानी गर्दिन भनेका छन् ।’

बाहिरी चक्रपथलाई ९ वटा सेक्टरमा छुट्याइएको छ । चिनीयाँ कम्पनीले ६९ किलोमिटरमा बन्ने गरी डीपीआर तयार पारेको भएपनि नेपाल सरकारले बाहिरी चक्रपथ ७२ किलोमिटर लामो बनाउने भनेको छ ।

बाहिरी चक्रपथको निमार्ण लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ अनुमान गरिएको छ ।


Back_to_top