काठमाडौं । कोरियन, इन्डियन र जापानी उत्पादनको दबदबा रहेको नेपाली बजारमा कम मूल्यको कारण यूरोपियन ब्राण्डलाई स्थापित गराउन सफल ह्याचव्याक कार फक्सावगेन पोलो हो भन्दा फरक पर्दैन । नेपाल आएदेखि नै वार्षिक २५० यूनिट हाराहारीमा विक्री हुँदै आएको पोलो प्रिमियम ह्याचव्याक सेग्मेन्टमा उपलब्ध रहेको छ ।
जर्मन निर्माता फक्सवागेनले सुरुमा १.६ लिटर इन्जिनमा उपलब्ध गराउदै आएको पोलो १.० लिटर एमपीआई इन्जिनमा आएपछि धेरै चर्चामा आएको मोडल हो । अहिले पोलो १.० लिटर टर्बो इन्जिनमा उपलब्ध हुन थालेको छ ।
आकर्षक डिजाइन र सुरक्षीत कार भएकै कारण पोलोले नेपालमा राम्रो बजार पाइरहेको देखिन्छ । पुजा इन्टरनेशनल नेपालले विक्री वितरण गर्दै आएको पोलो कम मूल्यमा यूरोपियन ह्याचव्याक खोज्नेको रोजाइमा पर्दै आएको छ ।
फक्सवागेन पोलोमा अवार्ड जित्न सफल १.० टिएसआई इन्जिन रहेको छ । टर्बो इन्जिनकै कारण यो सेग्मेन्टमा नै सर्वाधिक पावरफुल कार पनि हो । विशेषत हुन्डाई आई २०, मारुती सुजुकी बलेनो, टाटा अल्ट्रोज जस्ता कारसँग सिधा प्रतिस्पर्धामा रहेको पोलो अन्यको तुलनामा बढी पावर प्रदान गर्ने कार हो ।

फक्सवागेनले कम मूल्यका कार पनि पावर र पर्फमेन्समा उत्कृष्ट होस् भनेर भारतीय रणनीति २.० मा आधारित रहेर तयार गरेको टिएसआई इन्जिनमा नयाँ पोलो दमदार रहेको छ ।
नयाँ टिएसआई पोलोले अधिकतम ११० हर्स पावर र १७५ एनएम टर्क प्रदान गर्ने छ । यसमा कम्पनीले ६ स्पीड म्यानुयल र ७ स्पीड डिएसजी गियरबक्स दिएको छ ।
यसको एक्सलरेशन पनि निकै उत्कृष्ट रहेको छ । नयाँ पोलोले सून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार भेट्न केबल ९.९७ सेकेन्ड मात्रै लगाउने छ । यो निकै छिटो रफ्तार पकड्न सक्ने भारतमा उत्पादन भएको ह्याचव्याक कार हो । यसको उच्चगति क्षमता १९२ किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।
कम्पनीले यसको इन्टेरियर पनि निकै उत्कृष्ट बनाएको छ । सयमा दिइएको टचस्कृन केही सानो छ । यद्यपी झट्ट हेर्दा ड्यासबोर्डमा निकै उत्कृष्ट देखिन्छ । ६.५ इन्चको टचस्कृन यसमा दिइएको छ । जसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ ।
यसको इन्ट्रुमेन्टल क्लष्टर निकै स्पोर्टी रहेको छ । लेदर र्याप फ्ल्याट बटम स्टेरिङ ह्वील, ग्रे र व्ल्याक थिममा तयार भएको क्याविन, विभिन्न स्थानमा प्रयोग भएको क्रोम हाइलाइटले नयाँ पोलो निकै आकर्षक छ ।
विश्व बजारमा निकै रुचाईको पोलोले नेपालमा फक्सवागनलाई स्थापित मात्रै गरेको छैन । यूरोपियन ब्राण्डको लागि नयाँ बाटो खुल्ला गरिदिएको मान्न सकिन्छ ।

