काठमाडौं । प्रवेग डाइनामिक्स नाम स्टार्टअप कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले रेन्ज र स्पीडको संयोजनको रुपमा ‘प्रवेग डिफे’ मोडल सार्वजनिक गरेको हो ।
स्टार्टअप कम्पनीले ल्याएको यो एसयूभीले सिंगल चार्जमा ५०४ किलोमिटर रेन्ज र २१० किलोमिटर प्रतिघन्टाको स्पीडमा कुद्ने क्षमता राख्ने कम्पनीले दावी गरेको छ । आगामी अप्रिलबाट भारतमा डिलिभरी सुरु गर्ने तयारीको साथ कम्पनीले बुकिङ लिइरहेको छ ।
भारतमा उत्पादन भएको यो एसयूभी मूल्यको हिसावले पनि महंगो मानिन्छ । कम्पनीले यसको मूल्य ३९ लाख ५० हजार भरतीय रुपैयाँ तोकेर बुकिङ खुल्ला गरेको हो ।
प्रवेग कम्पनीका अनुसार नयाँ एसयूभीमा ९०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध हुनेछ । अल ह्वील ड्राइभ सिस्टममा आउने यो एसयूभीको कम्बाइन मोटर पावर ३०० किलोवाट रहेको छ भने ६२० एनएम टर्क प्रदान गर्नेछ । कम्पनीका अनुसार यसमा रहेको ब्याट्री कम्तीमा २ लाख ५० हजार किलोमिटरसम्म सहजै चल्नेछ ।
आधुनिक फिचर र आकर्षक डिजाइनमा तयार भएको यो एसयूभी झट्ट हेर्दा रेन्ज रोभर एसयूभीबाट प्रेरित भएको देखिन्छ । यसमा पानारोमिक शनरुफ, १८ इन्चको अलोय ह्वील, ड्यूल टोन कलर, विभिन्न ११ कलर अप्सन, सबै एलइडी लाइट पाउन सकिन्छ ।
दुई ठूला स्कृनको साथमा तयार पारिएको आधुनिक ड्यासबोर्ड यसको अर्को बलियो पक्ष हो । यसको इन्टेरियर निर्माणमा रिसाइकल गरी बनाइएका सामानको प्रयोग गरिएको छ । १५.६ इन्चको ठूलो इनफर्मेशन डिस्प्ले, एम्बीयन्ट लाइट र सुरक्षाको लागि ग्राहकले एडिएस फिचर पाउने छन् ।

