काठमाडौं । विगत एक वर्षमा मोटरसाइकल विक्रेता कम्पनीहरुले ३ देखि ५ पटकसम्म मूल्य वृद्धि गरेका छन् । यसरी मूल्य वृद्धि हुनुलाई उनिहरुले उत्पादकले नै मूल्य बढाएकाले बाध्य भएर बढाउनु परेको बताउँदै आएका छन् ।
असार १५ गते यतानै यामाहा, बजाज, टीभीएस, होन्डा, हिरो, केटीएम, हस्कभर्ना जस्ता कम्पनीले आफ्ना उत्पादनको मूल्य बढाएका छन् । पछिल्लो पटक मूल्य बढाउनु अघि कम्पनीहरुले ग्राहकललाई त्यसको जानकारी दिन थालेका छन् ।
अहिले पनि मूल्य बढ्न लागेको भन्दै अप्रिलिया, भेष्पा, क्रसफायर जस्ता कम्पनीले सूचना निकालेर ग्राहकलाई जानकारी दिइरहेका छन् । यी ब्राण्डले चाँडै नै नयाँ मूलयसूची प्रकाशन गर्नेछन् ।
एक वर्ष भित्र सबैभन्दा धेरै मूल्य वृद्धि गर्ने कम्पनीमा केटीएम परेको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीले भारतमा दोहोरो मूल्य वृद्धि भएकाले यहाँ पनि बढाउनु परेको जनाएको छ । लकडाउनका कारण विस्तारै मूल्य वृद्धि गर्न नसकिएकोले एकै पटक धेरै वृद्धि गर्नु परेको कम्पनी स्रोतले बतायो । केटीएमको एउटै मोडलमा ९५ हजार रुपैयाँसम्म मूल्य बढेको छ ।

टीभीएसले साउन १ गतेबाटै मूल्य वृद्धि गरेको हो । कम्पनीले ८ हजारसम्म मूल्य बढाएको थियो । पछि पुन एनटर्क १२५ स्कुटरको ३ भेरियन्टको मूल्य वृद्धि गरेको छ । कम्पनीले एनटर्कमा ४ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
त्यस्तै हिरोले पनि केही समय अगाडि मूल्य वृद्धि गरेको हो । हिरो मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ रहेको छ । कम्पनीले ३ हजारदेखी ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको हो ।
त्यसैगरि यामाहाले पनि आफ्ना धेरै जसो मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको छ । यामाहाले ४ हजारदेखि ८ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको हो । यामाहाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज रहेको छ ।
त्यसैगरी धेरै मूल्य वृद्धि गर्नेमा हस्कभर्ना रहेको छ । कम्पनीले एकै मोडलमा ६५ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

त्यस्तै बजाजले पछिल्लो पटक मूल्य वृद्धि गर्दा २ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मले वृद्धि गरेको हो । हस्कभर्ना तथा बजाज मोटरसाइकल हंशराज हुलासचन्द एण्ड कम्पनीले विक्री गर्दै आएको छ ।
सीएफ मोटोको लागि नेपालको आधिकारिक विक्रेता अन्ना इन्टरनेशनलले पनि मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । कम्पनीले १० देखि १४ हजार रुपैयाँसम्मले मूल्य वृद्धि गरेको हो ।
होन्डाको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले आफ्ना उत्पादनमा २ देखि ६ हजार रुपैयाँसम्म मूल्य बढाएको हो ।

