आगामी दुई वर्षमा ग्रेटवालका ५ नयाँ मोडल नेपाल ल्याउँछौं : सुशिल गुप्ताको अन्तर्वार्ता

कोभिड १९ को संक्रमणकै बीचमा चिनियाँ ब्राण्ड ग्रेटवाल मोटर्सको उत्पादन नेपाली बजारमा प्रवेश गरेको छ । पीकअप र एसयूभी सेग्मेन्टमा तीन नयाँ मोडलको साथ विक्री सुरु गरेको ग्रेटवाल मोटर्स नेपालले आगामी दिनमा के कस्ता प्लान तयार गरेर काम गरिरहेको छ भन्ने विषयमा भीजी इम्पेक्सका कार्यकारी निर्देशक सुशिल गुप्तासँग मेरोअटोले गरेको कुराकानीको सम्पादित अंशः

चिनियाँ ब्राण्ड ग्रेटवाल लिएर नेपाल आउनुभएको छ । बजारलाई कसरी विश्लेषण गर्नुभएको छ ?

नेपाल अटोमाबाइलको लागि बढ्दो र चाहिने बजार हो । नेपालमा केही वर्षदेखि अटोमोबाइलको बजार बढ्ने क्रममा रहेको छ । अहिले यो कोभिड १९ को महामारीले केही कमी आएको भए पनि प्रोफेशनल मानिसहरुको संख्या बढेसँगै गाडीको बजार बढ्न थालेको हो । वित्तीय संस्था, बीमा, मल्टीनेशनल कम्पनी, ठूला प्रोजेक्ट खुल्ने क्रम बढ्यो, त्यही कारण नेपालमा गाडी किन्न सक्ने मानिसको संख्या थपिँदै गएका छन् ।

कुनै समय जापानी उत्पादनको मात्रै संभावना भएको बजारमा कोरियन र यूरोपियन उत्पादनले पनि राम्रो उपस्थिति जनाउन सफल भए । यस्तोमा पछिल्ला दिनमा चिनियाँ ब्राण्ड आउने क्रम बढ्यो । तपाईंले पनि चिनियाँ ब्राण्ड ल्याउनुभएको छ । यसको प्रतिस्पर्धा कस्ता ब्राण्डसँग हुन्छ ?

नेपाली बजार धेरै हदसम्म भारतलाई आधार मानेर चल्ने गरेको देखिन्छ । विश्वका जुनसकै ब्राण्ड भए पनि भारतमा उत्पादन भएर आउने गाडीको बजार हिस्सा करिब ९५ प्रतिशत रहेको छ । अहिले जापानी ब्राण्ड निकै सुस्त छ । कोरियनहरु अगाडि छन् । त्यसको तुलनामा चिनियाँहरु धेरै छिटो काम गर्छन् । अहिले मोबाइलमा जस्तै गाडीमा पनि चिनियाँ ब्राण्ड धेरै अगाडि आउने छन् । भारतमा प्लान्ट स्थापना गरेसँगै ग्रेटवालका उत्पादन पनि अन्य ब्राण्डले जस्तै नेपालमा राम्राे व्यापार गर्ने हामीले अपेक्षा गरेका छौं ।

अमेरिका र यूरोपलाई अटोमोबाइलको ट्रेन्ड सेटरको रुपमा लिइन्छ । उनीहरुले गाडीमा कम ग्याजेटको नीति लिएका छन् । यस्तोमा चिनियाँहरुले ग्याजेटले भरिएको कार बनाउने गरेका छन् । यसले बजारमा चिनियाँ उत्पादन टिक्छन् ?

अब भविष्य विद्युतीय गाडीको हो । इलेक्ट्रीक गाडी यसै पनि हाइटेक हुन्छ । जहाँसम्म ग्याजेटको कुरा छ त्यसमा एशियाली बजारमा अहिले पनि माग धेरै छ । त्यसैले त कम्पनीहरुले ठूला ठूला इन्फोटेन्टमेन्ट सिस्टम, हरेक सिटमा ट्याबलोइटको प्रयोग गरेका छन् । अबको समय स्मार्ट फोनमा नै आफ्नो कार हेर्ने दिन आएको छ । हाम्रा ग्राहकलाई सनरुफ, मुनरुफ, एम्बीयन्ट लाइट जस्ता विषय भर्खर प्रयोग हुन लागेको छ । त्यसैले त हाम्रो देशमा गाडीलाई लग्जरी सेग्मेन्टमा राखेर कर लगाइएको छ नि । यूरोप र अमेरिकामा त कार आवश्यकताको वस्तु हो । यस्तोमा चिनियाँ गाडीको बजार निकै राम्रो हुने देख्छु ।

एजेन्सी सम्झौता गरेको छोटो समयमा नै ग्रेटवाल मोटर्सका उत्पादन नेपाल आए । त्यसलाई कसरी संम्भव गर्नुभयो ?

सन् २०२० को अटोएक्स्पोबाट यसलाई नेपाल ल्याउने तयारीमा हामी जुटेका थियौं । कोभिडको समयमा पनि चीनमा बन्द भएको थिएन । नेपालमा बन्द थियो त्यसका बाबजुद हामीले शोरुम निर्माणको कामलाई तीव्रता दियौं । शोरुमा निर्माण सकिएपछि गाडी मगाएका हौं । यसलाई चाँडो नै त भन्न मिल्दैन ।

गाडी त ल्याउनु भयो सर्भिस सेन्टरको तयारी के छ ?

हामीले पहिलो कर्मचारी नै सर्भिस टिममा राखेका थियौं । सर्भिस विना नयाँ ब्राण्डले काम गर्न सक्दैन । अहिले हामी १५ हजार स्क्वायर फिटको जमिनमा सर्भिस सेन्टर निर्माण गरिरहेका छौं । अबको २/३ महिनामा सर्भिस सेन्टर तयार हुन्छ । अहिले आवश्यक इक्यूपमेन्ट आयात भइरहेको छ । त्यसैले हाम्रो मुख्य चासो नै विक्रीपछिको सेवा हो ।

डिलर नेटवर्क विस्तारमा कसरी काम गर्दै हुनुहुन्छ ?

हामीले विभन्न सहरको लागि डिलर छनोट प्रकृया सुरु गरेका छौं । कम्तीमा यो वर्ष २/३ वटा डिलर विस्तार गर्ने प्रयास गरिरहेका छौं । मुख्यत पोखरा, बुटवल भैरहवा, इटहरी र विराटनगरमा डिलर विस्तार गर्ने विषयमा कुरा भइरहेको छ । खुल्ने सबै नेटवर्कमा फोर एस सुविधा ग्राहकले पाउने छन् ।

अहिले पीकअप, कम्प्याक्ट एसयूभी र फुलसाइज एसयूभी बजारमा उतार्नु भएको छ । यी प्रोडक्टको सहारामा तपाईंको ब्राण्ड विक्रीको मामलामा कहाँ अटाउला ?

समय लाग्छ । बजारमा धेरैभन्दा धेरै गाडी गुड्न नथालेसम्म धेरै संख्यामा विक्री गर्ने भन्ने हुँदैन होला । हामीले आक्रमक मूल्य निर्धारण गरेर आएका छौं । हाम्रो उत्पादनमा धेरै सेग्मेन्ट फर्स्ट फिचरहरु समावेश भएका छन् । कम्तीमा १०० यूनिट गाडी बजारमा गुड्न थालेपछि हाम्रो विक्रीले रफ्तार भेट्टाउँछ । सेफ्टी, इन्जिन र फिचरको आधारमा हाम्रा मोडलहरु उत्कृष्ट रहेको छ ।

प्रोडक्ट लाइनअप बढेसँगै संख्या बढ्ने हो । हावल र ग्रेटवालसँग अन्य मोडल पनि छन् भने ओरा ब्राण्डमा विद्युतीय गाडी छ । अन्य मोडल कहिलेसम्म नेपाल आउँछ ?

आगामी दुई वर्षमा पीकअप अर्को एउटा थप हुन्छ भने एसयूभीमा २ मोडल थप हुन्छ । दुई मोडल इलेक्ट्रीकमा पनि आउँछ । यी सबै जोड्दा ८ मोडल हामीसँग हुन्छ । जहाँसम्म ओराको विषय छ यो सिटी कार हो । यो भारतमा बन्न थाल्यो भने यसको धेरै फिचर नेपाल सुहाउँदो हुन्छ । अर्को एउटा इलेक्ट्रीक एसयूभी पनि हामी नेपाल ल्याउने छौं ।


Back_to_top