काठमाडौं । मलेशियाको गाडी उत्पादक ब्राण्ड प्रोटोनका उत्पादन संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको छ । यहि क्रममा चाँडै नै प्रोटोनका उत्पादन नेपाली बजारमा पनि विक्री सुरु हुने भएको छ । जगदम्बा मोटर्सले नेपाल ल्याउने प्रोटोनको सेडान कार सागा नेपाल आउने पहिलो मोडल हो ।
प्रोटोनको इतिहास हेर्ने हो भने यसले आफ्नो पहिलो कार सन् १९८५ मा प्रोटोन सागा ल्याएको थियो । त्यसपछि अन्य विभिन्न मोडल ल्याएको कम्पनीले सन् २०१८ मा पहिलो पटक एसयूभी ल्याएको थियो ।
प्रोटोनले अहिले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको प्रोटोन एक्स७० कम्पनीको पहिलो एसयूभी थियो । त्यसको दुई वर्षपछि नै कम्पनीले अर्को एसयूभी एक्स ५० बजारमा ल्याएको छ । संम्भवत जगदम्बा मोटर्सले नेपाली बजारमा सागापछि यी दुई मोडल नेपाल ल्याउने छ । कम्पनीले एक्स ७० को एउटा एसयूभी नेपाल ल्याएर सडक परिक्षण समेत गरिसकेको छ ।
प्रोटोनका उत्पादन अहिले विश्वका ७० भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । कम्पनीले उत्तर अमेरिका, यूरोप, चीन र दक्षिण पूर्वी एसियामा गरेर ९ वटा रिसर्च र डेभलपमेन्ट सेन्टर संचालन गरिरहेको छ । तर, कम्पनीको हेडक्वाटर भने मलेशियाको तान्जुङ् मलिम सहरमा रहेको छ । करिब १२८० एकरमा फैलिएको यो विशाल प्लान्ट हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको कम्पनीको दाबी छ । यो फ्याट्री एरियामा रिसर्च र डेभलपमेन्ट सेन्टको अलावा भेन्डर पार्क, सहरी क्षेत्र र एउटा विश्व विद्यालय समेत रहेको छ ।
गिली होल्डीङ र भोल्भोसँगको सहकार्य पश्चात् प्रोटोनले प्रविधिमा निकै ठूलो फड्को मारेको मानिन्छ । कम्पनीले प्रविधिको खोज तथा अनुसन्धानमा अर्बौ रूपैया खर्चेको छ । अत्याधुनिक सुविधा र नवीन उत्पादनहरू बजारमा ल्याउन प्रोटोनले डिजाइन र इन्जिनियरिङ्मा नयाँ प्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ । जसमार्फत उसले आफ्ना विश्वव्यापी रहेका ग्राहकहरुलाई सहज, सुरक्षित, आरामदायी र गतिशील यात्रा तर्फ अग्रसर गराइरहेको छ ।

