नयाँ पल्सर १५० भारतमा सार्वजनिक, एफआई र एबीएसको कारण मूल्य बढ्यो

बजाजले आफ्नो सर्वाधिक बिक्री हुने मोडल पल्सर १५० को नयाँ भर्सन सार्वजनिक गरेको छ । भारत सरकारले ल्याएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको पल्सर भारतमा ९ हजार रुपैयाँ महंगो मूल्य सहित बजारमा आएको हो ।

कम्पनीले सिंगल र डबल डिस्क दुबै अप्सनमा यसलाई बजारमा ल्याएको छ । पल्सर १५० बिएस ६ मापदण्डको एफआई इन्जिनमा उपलब्ध रहेको छ ।

कम्पनीले अहिलेको रेगुलर मोडलमा उपलब्ध समान डिस्क ब्रेक नयाँ मोडलमा पनि दिएको छ भने यसमा सिंगल च्यानल एबीएस थप गरिएको छ । डिजिटल र एनालग दुबै मिलाइएको इन्ट्रुमेन्ट कन्सोल नयाँ पल्सरमा पाउन सकिन्छ । इन्ट्रुमेन्ट कन्सोलमा एउटा नयाँ फिचरको रुपमा इन्जिन वार्निङ लाईट थप गरिएको छ ।

यसमा दिइएको १४९.५ सीसी इन्जिनले ८५०० आरपीएममा १३.८ बीएच पावर र ६००० आरपीएममा १३.२५ एनएम टर्क प्रदान गर्ने जनाइएको छ ।

हेलोजिन हेडल्याम्प, स्प्लीट सिट, क्लीप अन स्टाइल ह्याण्डलबार जस्ता पुरानै फिचर उपलब्ध यो मोटरसाइकलमा एगजस्ट र फियुल ट्याङक प्याडमा परिमार्जन गरिएको छ । कम्पनीले एगजस्टमा नयाँ क्रोम फिनिस समेत दिएको छ ।

नेपालमा बजाजका मोटरसाइकल एसेम्बल हुँदै आएकाले नयाँ इन्जिन युक्त पल्सर कहिलेबाट बजारमा आउँछ भन्ने एकिन भन्न सक्ने अवस्था छैन । यद्यपी नेपालमा बीएस ६ मापदण्डको पेट्रोलियम पदार्थ आयात आयात सुरु भएपछि भने यसको एसम्बल हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top