काठमाडौं । चालु आर्थिक वर्ष भित्रैबाट ललितपुर महानगरपालिकाले सडकमा स्मार्ट बत्ति बाल्ने भएको छ । अटोमेटिक फङ्सन भएको स्मार्ट सडक बत्ति चालु आर्थिक वर्षदेखि बल्ने ललितपुर महानगरले जनाएको हो ।
पहिलो चरणमा कुपन्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो हुँदै ग्वार्खोसम्म जडान गरिने छ । अटोमेटिक फङ्सन भएको स्मार्ट सडक बत्ति जडान गर्नका लागि महाविर प्रा. लि लाई ठेक्का दिएको हो । जडान गरेको १ बर्ष भित्र बिग्रियो भने निर्माण कम्पनीले नै यसको मर्मत गर्नेछ ।
ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले यही आर्थिक वर्षदेखि ललितपुरका मुख्य सडकहरुमा स्मार्ट सडक बत्ति बालिने बताएका हुन् । उनले करिब साढे ६ सय बत्ति जडान गर्ने काम भइरहेको जानकारी दिए । त्यसको लागि करिब साढे ५ करोडको लगानी हुने महर्जनले जानकारी दिए ।
‘महानगरले स्मार्ट सडक बत्ति जडानको जिम्मा विद्युत प्राधिकरणलाई दिएको र प्राधिकरणले भारतीय कम्पनी ठेक्का दिएको जनाएको छ । अब तुरुन्तै स्मार्ट सडक बत्ती जडान गरिने र चालु आर्थिकबाट सडकमा स्मार्ट बत्ति बाल्ने छन्’, प्रवक्ता महर्जनले मेरोअटोसँग भने ।
यस्ता सडक बत्ति मान्छेको चहलपहल हुँदा सबै तिर बल्ने छ भने मानिसको चहलपहल कम हुँदै गएसँगै एउटा बल्ने अर्को नबल्ने गरि थोरै मात्रामा बल्ने छन् । रिमोट सिस्टममा आधारित हुने हुँदा यसले विद्युत समेत कम खपत गर्ने र धेरै प्रकाश दिनेछ ।
मान्छेको चहलपहल हेरेर बल्ने, रात जति छिप्पिँदै गयो बत्ति झन् चहकिलो हुने भएकाले यस्लाई स्मार्ट सडक बत्ति भनिएको हो ।
अटोमेटिक फङ्सन भएको स्मार्ट सडक बत्तिलाई मानिसले आफै अनअफ गरिराख्नु पर्दैन त्यसले सडकमा हुने चहलपहललाई रिड गरेर त्यसै अनुसार काम गर्ने छ ।
यसो गर्दा सडकमा अनावश्यक रुपमा दिनभरी बत्ती बल्ने समस्याबाट मुक्ति पाइने छ ।


