यामाहाले नेपाल ल्यायो बीएस ६ इन्जिनमा दुई मोटरसाइकल

फाइल तस्विर

काठमाडौं । यामाहाले आफ्ना दुई चर्चित मोडल आर १५ भी थ्री र एमटी १५ को नयाँ भर्सन नेपाल ल्याएको छ । कम्पनीले यी दुबै मोडललाई बीएस ६ इन्जिनमा नेपाल ल्याएको हो ।

नेपाल आइपुगेको यी दुबै मोडलको अहिले परिक्षण भइरहेको कम्पनीले जनाएको छ । यामाहाको आधिकारीक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेज्ले बीएस ६ भर्सनका यी दुई मोटरसाइकललाई केही समय पश्चात् बजारमा विक्री सुरु गर्ने तयारी गरिरहेको छ ।

यामाहाले आफ्ना सबै मोडल बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध गराउने तयारी स्वरुप सुरुमा यी दुई मोडल नेपालमा ल्याएको र अब क्रमिकरुपमा अन्य मोडल ल्याउने तयारी भइरहेको कम्पनी स्रोतले मेरोअटोलाई बतायो ।

कम्पनीले बीएस ६ भर्सनमा नै नयाँ मोटरसाइकलको समेत परिक्षण गरिरहेको देखिएको छ । कम्पनीले बीएस ६ यामाहा एमटी २५ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । यामाहा आर १५ भी ३ र एमटी १५ नेपाली बजारमा लोकप्रियम मोटरसाइकल हुन् । यी दुबै मोटरसाइकललाई बैशाख अन्तिमबाट बीएस ६ इन्जिनमा विक्री गर्ने तयारी भइरहेको छ ।

युवा पुस्ताको रोजाइमा पर्न सफल यी दुई मोडलको बीएस ६ भर्सन नेपाली बजारमा प्रतिक्षित मोडल रहेको छ । पछिल्लो समय कम्पनीहरुले बीएस ६ भर्सनका मोटरसाइकल तथा स्कुटर नेपाल ल्याउने क्रम बढाउँदै लगेका छन् ।

यामाहाले आफ्नो स्कुटर लाइनअपलाई बीएस ६ मा अपग्रेड गरिसकेको छ । कम्पनीले विक्री गर्ने १२५ सीसी सेग्मेन्टका रेजेड आर र फसिनो बीएस ६ भर्सनमा विक्री हुँदै आएका छन् ।

नयाँ भर्सनको मूल्यको विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन । अहिले विक्री हुँदै आएको बीएस ४ यामाहा आर १५ भी ३ को मूल्य ४ लाख ७७ हजार ९०० र एमटी १५ को मूल्य ४ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top