रसुवागढी नाका खुल्ने, विद्युतीय गाडी आयातको बाटो खुल्यो

काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी नाका यसैसातादेखि खुल्ने भएको छ । अघोषित रुपमा लामो समयदेखि बन्द रहेको उक्त नाका सेम्टेम्बर १५ तारिख (भदौ ३० गते)देखि खुल्ने तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको हो ।

सेप्टेम्बर १५ तारिखदेखि चिनियाँ पक्षले नियमित रुपमा नाका खुलाउने तयारी गरिरहेको महावाणिज्य दूतावास स्रोतले जनाएको छ । ‘लामो समयदेखि अघोषित रुपमा बन्द रसुवागढी नाका १५ तारिखदेखि खुल्छ, चिनियाँ अधिकारीहरुले नाका खुलाउने तयारी गरिरहेका छन्,’ स्रोतले भन्यो ‘अब महिनौंदेखि थन्किएका सामानहरु व्यापारीले लैजान पाउँछन् ।’

नाका खुल्ने बताइए पनि दैनिक कति कन्टेनर सामान पठाउने भन्ने बारे टुंगो लागि नसकेको स्रोतले बतायो । ‘चिनियाँहरुले नाका खुलाउने टुंगो भइसकेको छ, बिहीबारदेखि खुल्छ । तर, कसरी सामान पठाउने भन्ने बारे छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

चीनमा कारोना प्रभाव कम हुँदै गएसँगै नाका खुलाउने तयारी गरिएको बताइएको छ । यसक्रममा आइतदेखि तातोपानी नाकाबाट सामान आयात हुन थालेको छ ।

चिनियाँ नाका खुल्ने भएसँगै लामो समयदेखि रोकिएका सामानहरु नेपाल भित्रिने भएका छन् । लत्ताकपडा, फलफूल, विद्युतीय सवारी लगायत सामान आयात हुनेछन् । नाकाबन्द हुँदा व्यापारीहरुले दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै अर्डर गरेका अर्बौंका सामान चीनमै रोकिएको थियो ।

सरकारले नाका खुलाउन पहल गर्दै आए पनि सार्थकता पाउन सकेको थिएन । कोरोनाका कारण देखाउँदै चीनले सन् २०२० देखि नै नेपालसँगका मुख्य व्यापारिक नाकाहरु बन्द गर्दै आएको छ । गत वर्ष केही महिना खुकुलो बनाए पनि पछिल्लो ५ महिना यता चीनले सबै नाका ठप्प बनाएको थियो ।

 

 

 


Back_to_top