काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले जथाभावि बाटो काट्ने पैदल यात्रीहरुलाई ठाउँको ठाउँ सचेतना कक्षा दिन थालेको छ । यसरी जथाभावि बाटो काट्ने पैदल यात्रीहरुलाई जेब्रा क्रसिङ तथा आकाशे पुलको प्रयोग गराउनका लागि सचेतना कक्षा दिन थालिएको हो ।
जथाभावि बाटो काट्ने लाई सोहि ठाउँमा २० मिनेटसम्म उभाएर कक्षा दिइने महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालले बताए । ट्राफिक प्रहरी महाशाखाले पुष २८ देखि सचेतना कक्षा सुरु गरेको हो ।
हालसम्म महाशाखाले ९ हजार ९ सय ८९ जनालाई सचेतना कक्षा प्रदान गरिसकेको छ । हाल काठमाडौका मुख्य सडकहरुमा जथाभावी बाटो काट्नेहरुलाई यस्तो सचेना कक्षा दिइदै आएको उनले बताए ।
सडकमा जथाभावि बाटो क्रस गर्ने, ट्राफिक नियम पालना नगर्ने व्यक्तिहरुलाई एकै ठाउँमा भेला गरी ट्राफिक प्रहरीले २० मिनेटको सचेतना कक्षा दिने गरेको छ । त्यसका लागि महाशाखाले छुट्टै टोली खटाइएको ढकालले बताए ।
उक्त सचेतना कक्षामा ट्राफिक नियमका बारेमा जानकारी दिइनेछ । बाटो काट्नका लागि हतार गर्नु हुन्न र आकाशे पुल अथवा जेब्रा क्रसिङको प्रयोग गर्नु पर्छ भन्ने लगायतका विषयमा सचेत गराइने छ ।
विगतमा पनि ट्राफिक महाशाखाले यस्तो कार्याक्रमहरु ल्याएको थियो । विगतमा महाशाखाले जथाभावी बाटो काट्ने तथा नियम मिच्नेलाई चक्लेट दिने, फुलमाला लगाउने, अबिर लगाउने तथा १ घण्टाको सचेतना कक्षा दिने लगायतका व्यवस्था गरे पनि त्यो केही समयपछि बन्द भएको थियो ।

