आयो नयाँ पावरफुल बुलेट ६५०, आधुनिक फिचरले भरिपूर्ण

काठमाडौं । ब्रिटिस मोटरसाइकल ब्राण्ड रोयल इनफिल्डको नयाँ पावरफुल बुलेट ६५० भारतमा सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा नयाँ बुलेट ६५० को बिक्री सुरु गरेको हो ।

कम्पनीले नयाँ बुलेटको मूल्य ३ लाख ६४ हजार ८५६ भारु (एक्स शोरुम) तोकेको छ । रोयल इनफिल्ड इन्डियाले इक्मा अटोशो २०२५ मा पहिलो पटक देखाएको नयाँ बुलेट ६५० अब भारतमा बिक्रीका लागि उपलब्ध भएको हो ।

नयाँ बुलेट ६५० परम्परागत बुलेटको डिजाइन पहिचानलाई जोगाउँदै अझ शक्तिशाली ६५० सीसी प्लेटफर्ममा आएको हो । कम्पनीका अनुसार यो मोटरसाइकल दैनिक प्रयोगदेखि लामो दूरीको हाइवे टुरिङसम्म सहज र आरामदायी राइड अनुभव दिन सक्षम छ ।

बुलेट ६५० क्यानन ब्ल्याक र ब्याटलशिप ब्लू दुई रङमा उपलब्ध छ । क्यानन ब्ल्याकले पुरानो बुलेटको क्लासिक पहिचानलाई अझ प्रिमियम शैलीमा प्रस्तुत गर्छ भने ब्याटलशिप ब्लुले रेट्रो डिजाइनमा आधुनिक पहिचान थपेको देखिन्छ ।

बुलेटमा ६४७.९५ सीसीको प्यारालल ट्विन सिलिण्डर, एयर, आयल कुल्ड, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ४७ पीएस पावर र ५२.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र स्लिपर क्लच पनि दिइएको छ । यो इन्जिन रोयल इनफिल्डको क्लासिक ६५० र मेटियर ६५० मा पनि प्रयोग भइसकेको छ । यसको स्मुथ प्रदर्शन, बलियो मिडरेन्ज टर्क र आरामदायी क्रुजिङ क्षमताका कारण यो इन्जिनलाई रोयल इनफिल्डको सफल ट्विन सिलिण्डर इन्जिन मानिन्छ ।

नयाँ बुलेट ६५० ले पुरानो बुलेट डिजाइनलाई कायम राखेको छ । तर यसमा ठूलो ६५० सीसी प्लेटफर्म, स्क्वायर शैलीको रियर फेन्डर र अग्लो ह्याण्डलबार दिइएको छ । जसले अझ कमाण्डिङ राइडिङ पोजिसन प्रदान गर्छ । फुटपेगको पोजिसन भने क्लासिक ६५० जस्तै राखिएको छ । सिंगल पिस सिट, फरक ह्यान्डलबार र केही डिजाइन परिवर्तन बाहेक अन्य अधिकांश पक्ष क्लासिक ६५० सँग मिल्दोजुल्दो रहेको छ ।

यसको ट्यांकीमा प्रिमियम आइकोनिक मेटालिक विग्ड आरइ ब्याजिङ छ, जुन हामीले रोयल एनफिल्ड बुलेट ३५० मा देखेको जस्तै देखिन्छ ।

स्टाइलिङ डिजाइनमा रहेको ६५० बुलेटमा कन्टोर्ड सिंगल पिस सिट, बक्सी रियर फेन्डर, क्रोम आउट ह्याण्डलबार, रेट्रो राउण्ड हेडलाइट, टाइगर आई पाइलट ल्याम्प, मटर शुटर एक्जस्ट, क्रोम एलिमेन्स, ह्याण्ड मेड पिन स्ट्राइप्स, टियरड्रप फ्युल ट्याकं, अगाडि टेलिस्कोपिक फोर्क, पछाडि ट्विन शक अब्जर्बार र मल्टि स्पोक ह्वीलहरू छन् ।

स्टिल ट्युबुलर फ्रेममा आधारित यस मोटरसाइकलमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ट्रिपर नेभिगेसन पोड, यूएसबी चार्जिङ पोर्ट, पूरा एलईडी लाइटिङ सेटअप, टर्न बाई टर्न नेभिगेसनको लागि स्ट्याण्डर्ड ट्रिपर नेभिगेसन मोड्युल, डुअल डिस्क ब्रेक, डुअल च्यानल एबीएस जस्ता फिचर समावेश छन् ।


Back_to_top