काठमाडौं । चिनियाँ टेक्नोलोजी जायन्ट हुवावे र एसएआईसी मोटर्सको संयुक्त लगानीमा बनेको पहिलो एसयूभी एच फाइभ सार्वजनिक भएको छ । चर्चित दुई चिनियाँ कम्पनीले बनाएको एच फाइभ हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी अलायन्स बिजनेस अन्तर्गतको सबैभन्दा सस्तो एसयूभी हो ।
चिनियाँ बजारमा २२ हजार ४७० अमेरिकी डलर सुरूवाती मूल्य रहेको एच फाइभ एसयूभी बिक्री खुल्ला भएको पहिलो घण्टामै १० हजार युनिट बुकिङ भएको थियो । हार्मोनी इन्टेलिजेन्ट मोबिलिटीले यसलाई गत अगस्ट २५ मा प्रिसेल सुरू गरेको थियो ।
एक महिनाभन्दा कम समयमा यसले अहिलेसम्म १ लाख ६० हजार युनिट अर्डर पाइसकेको छ । नयाँ एसयूभीलाई एसएआईसी ब्राण्ड नेममा बजारमा उतारेको हो ।
मिडसाइज एसयूभी सेग्मेन्टको एच फाइभ एसयूभीको लम्बाइ ४७८० एमएम, चौडाइ १९१० एमएम र उचाइ १६६४ एमएम छ । यसमा २८४० एमएम लामो ह्वीलबेस पाउन सकिने छ ।

क्याबिनमा यो एसयूभीमा ह्वावेको इन्टेलीजेन्ट ककपिट र ड्राइभिङ सिस्टम पाउन सकिन्छ । यसमा १५.६ इन्चको फ्लोटिङ टचस्कृन, डीसेपको स्टेरिङ ह्वील, स्टेरिङ ह्वील माउण्टेड गियर सिफ्टर, ५० वाटको वायरलेस फोन चार्जर, २.३ स्क्वायर मिटरको सनरुफ पाउन सकिन्छ ।
एसएआईसी एच फाइभको माथिल्लो भेरियन्टमा हुवावेको एडाएस ४ सिस्टम उपलब्ध छ । यसमा १९२ लाइन लाइडार, तीनवटा फोर डी एमएम वेव राडार, १२ वटा अल्ट्रासोनिक सेन्सर र ११ वटा क्यामरा छन् ।

