काठमाडौं । चिनियाँ व्यापारिक नाका तातोपानी हुँदै पुनः विद्युतीय सवारी साधन (ईभी) आयात हुन थालेको छ ।
बाढिपहिरोका कारण पटक पटक सडक बन्द हुँदा झण्डै २ महिनादेखि तातोपानी नाकाबाट ईभी आयात ठप्प थियो । मंगलबारदेखि कोदारी राजमार्ग खुलेसँगै ईभी आयात हुन थालेको हो ।
यद्यपि, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पानी पर्ने बित्तिकै पहिरो झरिहाल्ने हुनाले सडक निरन्तर खुल्नेमा भने शंका छ ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी रमेशबहादुर शाहले भन्सार यार्डमा आइपुगेका ईभीको जाँपास सुरू भएको जानकारी दिए । उनका अनुसार मंगलबार चीनबाट १५ वटा ईभी भन्सार यार्डमा आइपुगेका थिए । तीमध्ये ५ वटा जाँचपास भइसकेको उनले बताए ।
‘बाढिपहिरोको कारण लगभग २ महिनादेखि ईभी आयात हुन सकेको थिएन । मंगलबारदेखि सडक खुलेको छ । हिजो नै १५ युनिट कार यार्डमा आइपुगेका छन् । ५ वटा जाँचपास समेत भइसके,’ उनले मेरो अटोसँग भने ।
व्यवसायीले दशैं, तिहारलाई लक्षित गर्दै सयौं संख्यामा ईभी ल्याइरहेको बताए पनि अझै भन्सार यार्डमा आइनपुगेको उनले बताए । ‘व्यवसायीले सयौं संख्यामा ईभी ल्याइरहेका छन् भन्ने सुनिएको छ । ती कार बाटोमा आउँदै होलान । भन्सारसम्म आइपुगेका छैनन्,’ उनले भने ।
उनले मंगलबार एकैदिन चीनबाट ८० कन्टेनर मालसमान भन्सारमा आइपुगेको बताए । तीमध्ये ३९ कन्टेनर जाँचपास भई काठमाडौंतर्फ गइसकेका उनको भनाइ छ ।
व्यवसायीले गत नाइमा र नाडा अटो शोमा हजारौं गाडी बुकिङ लिएका थिए । चीनतर्फका दुवै मुख्या नाका तातोपानी र रसुवागढी २ महिनादेखि बन्द हुँदा चीनबाट गाडी आयात गर्न सकेका छैनन् ।
यी नाकाको विकल्पमा व्यवसायीले पछिलो समय मुस्ताङको कोरला नाका हुँदै ईभी आयात गर्न थालेका छन् । तर, कोरला नाकाबाट ईभी ल्याउन समय र लागत दुवै बढी लाग्ने व्यवसायीहरू बताउँछन् । साथै, कोरला-काठमाडौं सडकखण्ड सबै कालोपत्र नभएकाले धेरै ठाउँमा कठिन छ ।

