दशैंमा पनि सट्टापट्टा मेला गर्दै मोटरसाइकल बिक्रेता, कुन ब्राण्डको कहाँ ?

काठमाडौं । आज दशैंको तेस्रो दिन चलिरहेको छ । विभिन्न दुईपाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनीहरूले अहिले पनि एक्सचेन्ज क्याम्प संचालन गरिरहेका छन् ।

मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने मध्येका मुख्य कम्पनीहरू बजाज, यामाहा, टीभीएस जस्ता कम्पनीहरूको एक्सचेन्ज क्याम्प उपत्यकामा चलिरहेको छ । यी बाहेकका अन्य कम्पनीको पनि चाडपर्व केन्द्रित सट्टापट्टा स्कीम चल्दैछ ।

बजाजले काठमाडौंको भृकुटीमण्डपमा ६ दिने एक्सचेन्ज क्याम्प संचलान गरिरहेको छ । उक्त एक्सचेन्ज क्याम्पको आज नै अन्तिम दिन हो । त्यस्तै, टीभीएसले राष्ट्रिय सभा गृहमा एक्सचेन्ज क्याम्प चलाइरहेको छ । यो एक्सचेन्ज क्याम्प असोज १२ गतेसम्म चल्नेछ ।

अर्को चल्तीको ब्राण्ड यामाहाले जय नेपाल सिनेमा घरमा एक्सजेन्ज क्याम्प आयोजना गरिरहेको छ ।

बजाजले फेस्टिभ अफरमा ‘बजाज प्रिमियर लिग’सहितको एक्सचेन्ज क्याम्प चलाइरहेको छ । यो एक्सचेन्ज क्याम्पमा आएर पुरानो मोटरसाइलसँग नयाँ सट्टापट्टा गर्ने जोसुकैले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरमा १० हजार रुपैयाँ थप बोनस कम्पनीले दिएको छ ।

त्यस्तै, ग्राहकले ल्याएका पुराना मोटरसाइकल वा स्कुटरमा धेरै वर्षदेखि कर तिर्न बाँकी रहेको छ भने पनि कर र जरिवाना समेत कम्पनीले नै व्यहोर्ने स्कीम दिएको हो ।

कम्पनीले हरेक दिन मोटरसाइकल खरिद गरेका एक जना ग्राहकलाई लक्की ड्रमार्फत छानेर ५० हजार नगद पुरस्कार दिनेछ । कम्पनीले नयाँ मोटरसाइकल वा स्कुटर खरिदमा नगद छुट, फ्री मोटरसाइकल एसेसरिज, अन द स्पट फाइनान्स सुविधा, नागरिकताकै आधारमा मोटरसाइकल पास जस्ता सुविधा उपलब्ध गराएको हो ।

त्यसैगरी, यामाहाले ‘ब्लू फेस्ट’ नाम दिएको एक्सचेन्ज क्याम्प भदौ २७ गतेदेखि संचालन भइरहेको छ । ब्लू फेस्टमा ग्राहकले जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग यामाहाको नयाँ सवारी साट्ने अवसर पाउने छन् ।

जहाँ कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार, अन्य ब्राण्डमा न्यूनतम २५ हजार (कर म्याद पूरा गर्नुपर्ने), एक्सचेन्समा अतिरिक्त १० हजार बोनस, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पाउने छन् ।

त्यस्तै, यामाहाका मोटरसाइकल खरिदमा १० लाखसम्म नगद छुट, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट, भाग्यशाली विजेताले राइड द ब्लू विथ रोडिजको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

टीभीएसले संचलान गरिरहेको टीभीएस ग्रयाण्ड एक्सचेन्जमा ग्राहकले १ लाखसम्मको नगद छुट पाउन सक्नेछन् । ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरमा न्यूनतम ३० हजार र थप १० हजार रुपैयाँ मूल्यांकन पाउने छन् ।

हरेक मोटरसाइकलको खरिदामा ग्राहकले मोटरसाइकल एसेसरिजमा ब्याग, बाइक कभर, रेनकोट र हेलमेट नि:शुल्क पाउने छन् ।

यी बाहेक अन्य सबैजसो कम्पनीहरुले आफ्नो शोरुममै दशै स्कीमसँगै एक्सचेन्ज सुविधासमेत उपलब्ध गराउँदै आएका छन् । सिजी मोटर्सले हिरो मोटरसाइकल तथा स्कुटरमा ‘हाम्रो परम्परा’ फेस्टिभ स्कीम संचलान गरिरहेको छ । यो स्कीममा ग्राहकले ८ हजारदेखि ५ लाखसम्म नगद छुट पाउने छन् ।

कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल ल्याएर नयाँसँग एक्सचेन्ज गर्ने ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याङ्कनमा १० हजारदेखि १ लाखसम्म थप गर्ने कम्पनीको भनाइ छ ।


Back_to_top