मोटरसाइकलको व्यापार दुरुस्तै, महँगा कार किन्ने ‘होल्ड’मा

काठमाडौं । जेन-जी आन्दोलनपछि अटोमोबाइल बजारमा उथलपुथल सुरू भएको छ । आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्ति माथि नै तोडफोड र आगजानी भएसँगै केही दिन अन्योल नै कायम थियो ।

काठमाडौंको थापाथलीका धेरै शोरुममा क्षति पुग्यो । उपत्यका बाहिरका केही निजी शोरुममा पनि आक्रमण भएको थियो । यी सबै घटनाका बाबजूद अटो बजार क्रमशः चलायमान हुन थालेको देखिन्छ ।

हजारौंको संख्यामा कर, जीप, भ्यान जलेर नष्ट भएका छन् । मोटरसाइकलको एकिन विवरण अझै बाहिर आएका छैनन् । समग्र आन्दोलनमा ७ देखि १० हजार सवारीसाधनमा क्षति पुगेको अनुमान छ ।

नेपालमा धेरै निजी साधनको बिक्री हुने चाडपर्वको मुखमै भएको आन्दोलनले व्यापार कस्तो हुन्छ भन्ने अन्योलता थियो । तर, मोटरसाइकल र कम बजेटका कारमा देखिएको चहलपहलले धेरै बिक्रेतालाई राहत महसुस गराएको छ ।

‘हामीले सबै किसिमका गतिविधि बन्द गर्ने घोषणा नै गरेका थियौं । तर, आन्दोलनपछि पनि राम्रै संख्यामा मोटरसाइकल किन्ने ग्राहक आएका छन् । यसले त्यति धेरै निरास हुनु पर्ने अवस्था छैन,’ यामाहा नेपालका सीईओ दीपक अग्रवालले भने ।

निरास बन्नु पर्ने अवस्था नआएको ६० लाखभन्दा कम मूल्यका गाडी बिक्रेताहरूको भनाइ छ । शोरुममा मानिस आएका छन् । गाडी डेलिभरी केही स्लो छ । महँगा गाडी किन्नेहरूले भने आफ्नो निर्णय पुनर्विचार गरिरहेका हुन् कि भन्ने भान पर्छ ।

मोटरसाइकलको व्यापार आफ्नै लयमा

आन्दोलनपछि पनि मोटरसाइकलको व्यापार एउटै लयमा देखिएको बिक्रेताहरूको भनाइ छ । अहिले दशैं सुरू भएको र मानिसहरू नयाँ सवारी साधनमा यात्रा गर्न रुचाउने भएको कारण नयाँ मोटरसाइकल खरिद गरिरहेका छन् ।

अघिल्ला वर्षहरूको दशैं जस्तै यस वर्ष पनि घटस्थापनाको दिन झण्डै ५ हजार युनिट मोटरसाइकलको व्यापार भएको बिक्रेताहरू बताउँछन् ।

खासगरी बजाज, यामाहा, होन्डा, हिरो, टीभीएस जस्ता ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा उपभोक्ताको रुची देखिन्छ ।

महँगा कारको बिक्री ठप्प

आन्दोलनपछि सृजित घटनाक्रमले पैसा खर्च गरेर महँगा गाडी किन्न सक्ने मानिसलाई भने बिच्क्याएको छ । उनीहरू आन्दोलनमा देखिएका युवाहरूको निसानामा परिन्छ कि भनेर चिन्तित छन् ।

अहिले बुकिङ गरेर झिकाइएका गाडी पनि घर नलाने मुडमा उपभोक्त पुगेको बुझ्न कठिन छैन । उनिहरू अहिले ‘वेट एण्ड वाच’को अवस्थामा रहेका छन् । अवस्था सामान्य भएपछि मात्रै महँगा कारको बिक्री बढ्न सक्ने देखिन्छ ।


Back_to_top