काठमाडौं । जेन-जी आन्दोलनपछि प्रिमियम एसयूभीको आयात खुम्चिएको छ । भदौ २३ र २४ गतेको आन्दोलनपछि केबल ५८ युनिट प्रिमियम एसयूभी नेपाल आएको देखिन्छ ।
सन् २०२५ को जनवरीदेखि अगस्टसम्ममा २२२ युनिट प्रिमियम एसयूभी आयात भएकोमा आन्दोलनपछि सेप्टेम्बर २०२५ देखि फेब्रुअरी १५, २०२६ सम्ममा केबल ८० युनिट मात्रै आयात भएको हो ।
सेप्टेम्बर महिनामा भएको जेन-जी आन्दोलनपछि रेन्जरोभर २ युनिट, डिफेन्डर १ युनिट, फोर्ड एभरेस्ट ५ युनिट, ग्रेटवाल हाभल १ युनिट, माज्दा सीएक्स फाइभ ४ युनिट, स्कोडा कोडियाक १ युनिट मात्रै आयात भएको देखिन्छ ।
त्यसैगरी, होन्डा सीआरभी ४ युनिट, सुबारु फरेस्टर २ युनिट, सुबारु आउटब्याक १ युनिट, मित्सुबिशी पजेरो २ युनिट, आउट ल्याण्डर २ युनिट आयात भएको छ । आन्दोलनपछि महँगा एसयूभी सबैभन्दा धेरै टोयोटाले ल्याएको देखिन्छ । कम्पनीले आन्दोलनपछि ३४ युनिट एसयूभी ल्याएको छ । जसमा ल्याण्डक्रुजर, र्याभफोर, प्राडो र फर्चुनर जस्ता मोडल छन् ।
कोरियन ब्राण्ड हुन्डाईले टुसान एसयूभी ३ युनिट आयात गर्दा चिनियाँ ब्राण्ड जिडब्लूएमको ट्याङ्क ५०० एसयूभी पनि ३ युनिट आयात भएको देखिन्छ ।
ईभी तर्फ टेस्ला मोडल थ्री ९ युनिट आयात भएको छ । बीएमडब्लू आइएक्स वान ५ युनिट, किया ईभी नाइन १ युनिट र अउडीको प्रिमियम एसयूभी ५ युनिट आयात भएको तथ्यांकमा छ ।
जेन-जी आन्दोलनपछि धेरै मानिसले महँगा गाडीमा लगानी गर्ने अवस्था नदेखेको व्यवसायीहरूको बुझाइ छ । आन्दोलन अगाडि महँगा गाडीको बजार राम्रै थियो । आन्दोलनले निकै कमजोर बनाइदिएको छ ।
‘मासिक २/३ वटा प्रिमियम गाडी ल्याएर बेचिरहेका थियौं । अहिले लगभग ठप्प प्रायः छ । सम्भवतः गाडी किन्ने मानिसको मनोवल उच्च नभएर होला’, एक बिक्रेताले मेरोअटोसँग भने ।
पछिल्ला दिनमा आधिकारिक बिक्रेता बिना ल्याएर बिक्री गरिने महँगा गाडीको कारण पनि धेरै उपभोक्ता अन्योलमा रहेको सुनिन्छ । तर, आन्दोलले सृजना गरेको त्रासबाट पैसा खर्च गर्न सक्ने मानिस बाहिर आउन सकेको देखिँदैन । त्यसैको प्रभाव महँगा एसयूभीको आयातमा परेको हो ।

