काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा ईभी आयात खुम्चेको छ । साउनमा पेट्रोलियम पदार्थबाट चल्ने र विद्युतबाट चल्ने कुल ५८३ यूनिट चार पाङ्ग्रे साधन आयात भएका छन् । जसमा ईभीको हिस्सा १९ प्रतिशत मात्रै छ ।
साउन महिनामा विभिन्न ब्राण्डका ११० यूनिट विद्युतीय कार आयात भएका छन् । यसमा सबैभन्दा धेरै चीनबाट ८३ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । बाँकी २७ यूनिट ईभी भारतबाट आयात भएको हो । अघिल्लो आर्थिक वर्षको साउन महिनामा ईभीको आयात २११ यूनिट थियो ।
अहिले भारतबाट आयात भएको ईभीमा सबैभन्दा ठूलो हिस्सा सिट्रोन सी-३ को देखिन्छ । सी-३ मा ४२ किलोवाट क्षमताको मोटर छ । साउनमा २१ यूनिट ५० किलोवाटभन्दा कम क्षमताका ईभी भारतबाट नेपाल आएको हो ।
सबैभन्दा धेरै ५० किलोवाटदेखि १०० किलोवाट क्षमताका ईभी चीनबाट आयात भएको देखिन्छ । चीनबाट ७५ यूनिट गाडी यो सेग्मेन्टमा आयात भएको हो । चीनबाट भएको आयातमा बीवाइडी एटो-३ को हिस्सा सबैभन्दा धेरै छ । त्यस्तै यही सेग्मेन्टमा भारतबाट ६ यूनिट मात्रै ईभी आयात भएको छ । जुन टाटा नेक्सन हो ।
यसका अलावा १०१ देखि २०० किलोवाट क्षमताका ५ यूनिट र २०१ माथि ३०० किलोवाटसम्मका ३ यूनिट ईभी चीनबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
बढ्यो इन्टरनल कम्बस्चन
अघिल्लो आर्थिक वर्षभर केबल २ हजार ६०० यूनिट इन्टरनल कम्बस्चन कार आयात भएकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा नै ४७३ यूनिट गाडी आयात भएको छ । यसमा सबैभन्दा ठूलो हिस्सा १००० देखि १५०० सीसी सेग्मेन्टमा देखिन्छ ।
अघिल्लो आर्थिक वर्षको साउन महिनामा इन्टरनल कम्बस्चन इन्जिन भएका कारको आयात केबल १३३ यूनिट मात्रै थियो । आयातको आधारमा साउनमा पेट्रोलियम पदार्थबाट चल्ने कारको बजार हिस्सा ८१ प्रतिशत रहेको छ ।

