काठमाडौं । नेपालमा पछिल्ला बर्षहरुमा स्कुटरको लोकप्रियता तीब्र गतिमा बढ्दै गएको छ । खासगरी, स्कुटरहरु युनिसेक्सको रुपमा पहिचान बनाउन सफल भएसँगै यसको प्रयोग ब्यापक बनेको हो ।
बजारमा उच्च माग हुँदा बिक्रेताहरुले पनि नयाँ–नयाँ मोडलका स्कुटर ल्याइरहेका छन् । पछिल्लो ५ वर्षमा दुई पाङ्ग्रे साधनमा स्कुटरको बजार हिस्सा ३० प्रतिशतबाट बढेर झण्डै ५९ प्रतिशत हाराहारी पुगेको अनुमान गर्न सकिन्छ ।
यी सबै घटनाका बीच पनि बजारमा आएका सबै नयाँ मोडलले सफलता पाउँदैनन् । उत्कृष्ट डिजाइन र फिचरले भरिपूर्ण भएपनि ग्राहकबीच लोकप्रिय बन्न नसकेका धेरै मोडल छन् ।
नेपालमा स्कुटर बेच्ने चल्तिका ब्राण्डमा होन्डा, टीभीएस, यामाहा, सुजुकी, भेष्पा, अप्रिलिया लगायत हुन् । एशियाली बजारमा यिनै ब्राण्डका स्कुटरहरु धेरै बिक्री हुन्छन् । नेपालमा पनि यिनीहरुको उपस्थिति बलियो नै छ ।
राम्रो ब्राण्ड भएर पनि बिक्रीमा संघर्ष
नेपालमा स्कुटर बिक्री गर्ने र भारतमा पनि बलियो पकड जमाउन सफल ब्राण्ड सुजुकी हो । सुजुकी गुणस्तरका हिसावले पनि उत्कृष्ट स्कुटर बनाउने कम्पनीमा पर्छ । सुजुकीसँग स्कुटरमा ‘भेरियसन’ पनि छ । स्पोर्टी स्कुटर एभिनिस र म्याक्सी स्कुटर बर्गम्यान निकै राम्रो उत्पादन हुन् । बजारमा उच्च माग रहेको सेग्मेन्टकै स्कुटरको बिक्री गरिरहेको भएपनि बिक्री संख्याभने न्यून छ ।
हिरोको जुम स्कुटर पनि स्पोर्टी सेग्मेन्टमा उपलब्ध छ । त्यसको माग र चर्चा पनि राम्रै रहेको बताइन्छ । तर, आयात तथ्यांक भने ज्यादै न्यून छ । उसोत हिरोको खराब पर्फमेन्सको कारण नेपाल जनरल मार्केटिङले डिलर नै गुमायो ।
हिरोले भारतमा धेरै मोडलहरु बिक्री गर्दै आएको भएपनि नेपालमा जुम मोडलको ११० र १२५ सीसी मात्रै उपलब्ध छ । यी स्कुटरको बिक्री पनि ठिकठाक मात्रै छ ।
होन्डा, यामाहा र टीभीएसको बिक्री राम्रो छ । होन्डाको डिओ, यामाहाको रेजेडआर र टीभीएसको एनटर्क भने सफल मोडल हुन् । कुल स्कुटरको बजारमा यी मोडलको हिस्सा ६० प्रतिशत माथि रहेको अनुमान गर्न सकिन्छ ।
टीभीएसले बिक्री गर्दै आएको जुपिटर ११०, होन्डा एक्टिभा र ग्राजिया जस्ता मोडलको बिक्री औषतभन्दा कम छ । यामाहा फसिनो, एनम्याक्स, एरोक्स मोडलहरु पनि ठूलो संख्यामा बिक्री हुने मोडलमा पर्दैनन् ।
नेपालमा स्कुटरको बजार निकै प्रतिस्पर्धी बन्दै गएको छ । त्यसैले बिक्रेताहरुले नयाँ मोडल ल्याउँदा फिचर, मूल्य र डिजाइन मात्र होइन, ग्राहकको मनोविज्ञान र बजारको आवश्यकतालाई बुझ्न सक्नु पर्छ ।
अहिले नेपालमा निकै सफल मानिएका ब्राण्डहरु नै बजारमा टिक्न मुश्किल अवस्थामा पुग्दैछन् । त्यसैले बजार बढ्दा सबैले फाइदा पाउँछन् भन्ने हुँदैन ।

