बीवाइडीको मिनी कार तयार, यही हप्ता सार्वजनिक हुने

काठमाडौं । चिनियाँ कम्पनी बीवाइडीले टल ह्याच डिजाइनमा पहिलो इलेक्ट्रीक ‘केई कार’ तयार गरेको छ । कम्पनीले यही साताको अक्टोबर ३० तारिखबाट जापानको टोकियोमा सुरु हुने मोटर शोमा यसलाई प्रदर्शनी गर्ने भएको हो ।

सामान्य बक्स आकारको डिजाइनमा तयार हुने यस्ता केई कारहरु जापानमा निकै प्रसिद्ध छन् । टोकियो मोटर शोबाटै यसलाई सार्वजनिक गर्न लागेको कारण बीवाइडीको नजर जापानी बजारमै रहेको अनुमान लगाउन सकिन्छ ।

बीवाइडीले यसलाई निकै फराकिलो क्याविन र सिट सहित ल्याउन लागेको चर्चा भइरहेको छ । साथै, लामो ह्वीलवेस प्रयोग गरेर यसलाई आरामदायी बनाउन खोजेको धेरैले अनुमान लगाएका छन् ।

कम्पनीले सार्वजनिक गरेको टिजरमा धेरै कुरा नदेखिएपनि सडक परीक्षणमा देखिए अनुसार कारमा स्लाइडिङ ढोकाको प्रयोग गरिएको छ । झ्याल पनि निकै ठूलो साइजमा देखिन्छ । फ्लोटिङ रुफ डिजाइनले आकर्षक देखिएको छ ।

रिङ आकारमा तयार भएको अगाडि र पछाडिका लाइटको बनोट उत्कृष्ट छ । समग्रमा जापानी बजारमा अत्याधिक रुचाइने डिजाइनमा यसलाई तयार पारेको अनुमान गर्न सकिन्छ ।

इन्टेरियरमा फराकिला सिट, थ्री स्पोक स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, फ्लोटिङ टच स्कृन रहने छ । बीवाइडीले यसमा २० किलोवाट आवरको ब्लेड ब्याट्री दिनेछ । यसलाई सहरी क्षेत्रमा १८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।

चिनियाँ उत्पादकले यसमा दिइएको मोटर लगायतका विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top