एमजीले प्रयोग गर्‍यो ‘स्पेशल ब्याट्री’, रेन्ज ५३० किमी

काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले आफ्नो नयाँ जेनेरेशन एमजी फोरको ‘५३० स्मार्ट एडिसन’मा सीएटीएलले उत्पादन गरेको स्पेशल ब्याट्री प्रयोग गरेको छ । यसअघि अर्कै ब्याट्रीमा ल्याउने योजना बनाएको ५३० स्मार्ट एडिसनलाई ५३० किलोमिटर रेन्ज दिनेगरी ल्याएको हो ।

एमजीले स्पेशल एडिसनको मूल्य चीनमा १४ हजार १०० अमेरिकी डलर कायम गरेर सार्वजनिक गरेको हो । यसमा एड्भान्स ड्राइभर असिस्टेन्सको पनि प्रयोग गरिएको छ । चीनमा १८१ प्रतिशतले बिक्री बढाइरहेको एमजी फोरको नयाँ भर्सन निकै चर्चित बन्दै गएको हो ।

गत अगस्ट २०२५ मा आयोजना भएको चेन्दु अटो शोमा पहिलो पटक सार्वजनिक भएको नयाँ एमजी फोर सेमी सोलिड स्टेट ब्याट्रीको कारण पनि चर्चामा थियो । एसएआइसीको प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको नयाँ एमजी फोर चीनमा विभिन्न ५ भेरियन्टमा बिक्री भइरहेको छ ।

ठूलो ह्याचव्याक कार भएर पनि यसको सुरुवाती मूल्य ९ हजार १४० डलर रहेको छ । यसमा १२० किलोवाट क्षमताको ‘सिक्स इन वान’ इलेक्ट्रीक मोटर दिएको छ । जसको टपस्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा छ ।

नयाँ एमजी फोरलाई कम्पनीले ४२.८ र ५३.९ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएर ल्याएको छ । एमजी फोरको लम्बाइ ४३९५ एमएम, चौडाइ १८४२ एमएम र उचाइ १५५१ एमएम छ ।

आगामी २०२६ को पहिलो क्वाटरमा नेपाल आउने अनुमान गरिएको एमजी फोर एक आकर्षक फ्यामली ह्याचव्याक कार हुनेछ । पारामाउन्ट मोटर्सले अन्य प्रतिस्पर्धीभन्दा निकै आकर्षक मूल्यमा नयाँ एमजी फोरको बिक्री थाल्ने अनुमान गरिएको छ ।


Back_to_top