काठमाडौं । नेपालमै भारतीय लुब्रिकेन्ट सर्भोको उत्पादन सुरू भएको छ ।
इन्डियन आयल कर्पोरेसनसँग मिलेर गोल्छा ग्रुपले नवलपुरको देवचुलीमा अत्याधुनिक ल्युब म्यानुफ्याक्चरिङ प्लाण्ट स्थापना गरी उत्पादन सुरू गरेको हो ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले देवचुलीस्थित प्लाण्टबाट सर्वो लुब्रिकेन्ट उत्पादन सुरू भएको जानकारी दिए । उनले यो गौरवको विषय भएको बताए । यो उद्योगले नेपाललाई थप आत्मनिर्भर बनाउने दिशामा एउटा कदम रहेको उनको भनाइ ।
‘नवलपुरको देवचुलीमा हाम्रो सर्भो इन्टस्ट्रीयल तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन केन्द्रमा उत्पादन सुरू भएको घोषणा गर्न पाउँदा हामीलाई गर्व लागेको छ,’ उनले भनेका छन्, ‘यो इन्डियन आयल कर्पोरेसन र गोल्छा ग्रुप बीचको बलियो साझेदारी, विश्वास, साझा दृष्टिकोण र गुणस्तरप्रतिको प्रतिबद्धताको प्रतिफल हो ।’
यो उद्योगबाट १५० जनाले प्रत्यक्ष रोजगारी पाउने उनले बताए । यो उद्योगले नेपालको अटोमोबाइल र औद्योगिक क्षेत्रमा आवश्यक पर्ने लुब्रिकेन्टको मागलाई स्थानीय तवरमै पूरा गर्न ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ ।

