ट्राफिक जरिवाना १ लाखसम्म पुर्याउने प्रस्ताव, कुन गल्तीमा कति ?

फाइल तस्बिर ।

काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराउने प्रस्ताव गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति बढेसँगै त्यसलाई निरुत्साहित गर्न सरकारले जरिवाना रकम दशौं गुणासम्म बढाउने तयारी गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्राफिक जरिवाना बढाउन ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाईं संशोधन र एकीकरण गर्न बनेको २०८२’को मस्यौदा तयार पारेको छ ।

प्रस्तावित मस्यौदामा कसुर अनुसार ट्राफिक प्रहरीले तत्कालै १०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको हाे । साथै, कारबाहीको दायरा समेत विस्तार गरिएको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा २० वटा कसुर गरेको पाइएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न पाउने व्यवस्था रहेकोमा नयाँ विधेकमा ३४ कसुर गरेमा तत्कालै सजाय गर्न सक्ने प्रस्ताव गरिएको हो ।

सरकारले एक दशकपछि जरिवाना बढाउने तयारी गरेको हो । यसअघि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्दै २०७३ वैशाख १७ गतेदेखि नयाँ जरिवाना लागू गरिएको थियो ।

मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले नयाँ सवारी तथा यातायात विधेयकको मस्यौदा सार्वजनिक गरी त्यसउपर सरोकारवालासँग राय सुझाव माग भइरहेको जानकारी दिए ।

उनले सबैबाट प्राप्त सुझावका आधारमा आवश्यकता अनुसार मस्यौदामा संशोधन गरी अन्तिम रुप दिइने बताए । त्यसपछि सहमतिका लागि अर्थ र कानुन मन्त्रालय पठाइने उनले बताए । दुवै मन्त्रालयबाट सहमति प्राप्त भएपछि स्वीकृतिको लागि मन्त्रिपरिषद् पठाइने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संघीय संसदमा दर्ता भई कानुन पारित हुने प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए ।

‘सवारी तथा यातायात सम्बन्धी नयाँ कानुन आवश्यक छ । त्यसका लागि हामीले विधेयकको मस्यौदा तयार गरिसकेका छौं । अहिले राय सुझाव लिने काम भइहरेको छ । चाँडै सुझावहरू समेटी मस्यौदालई अन्तिम रुप दिइने छ,’ उनले मरोअटोसँग भने, ‘त्यसपछि अर्थ र कानुन मन्त्रालयसँग सहमति लिई स्वीकृतिका मन्त्रिपरिषद् पठाइने छ । क्याबिनेटबाट स्वीकृत भएपछि संसदीय प्रक्रियामा जान्छ ।’

संघीय संसदमा दर्ता भएकाे विधेयक दुई तरिकाबाट अघि बढ्ने छ । पहिलो, संसदीय समितिमा सरोकारवालासँग छलफल गरी प्राप्त सुझाव समेटी विधेयकलाई अन्तिम रूप दिइन्छ । दोस्रो, सिधै संसदमा पेश गर्ने । सरकारले तत्कालै आवश्यक ठानेका कानुन निर्माणका गर्न कतिपय विधेयक संसदीय समितिमा छलफल नगराई फास्ट ट्रयाकमा सिधै संसदमा पेश गर्ने प्रचलन पनि छ ।

नयाँ सवारी तथा यातायात ऐन आम सरोकारको विषय रहेकाले संसदीय समितिमै छलफल भएर संसदमा पेश हुने सम्भावना धेरै देखिन्छ । कुनै विधेयक संघीय सदनका दुवै संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भई राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि मात्रै कानुनको रूप लिन्छ । राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने छ ।

१ लाखसम्म जरिवाना

प्रस्तावित विधेयको दफा ६२ मा सजाय सम्बन्धी व्यवस्था गरिएको छ । जसमा कसैले ऐनमा तोकिएका कसुर गरेमा यातायात निरीक्षक वा यातायात व्यवस्थापनमा खटिएको घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले निजलाई तत्कालै तत्कालै १०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवान गर्न सक्ने व्यवस्था गरिएको छ । घटनास्थलमा तोकिएका अधिकारी नभए प्रहरी जवानले पनि उल्लंघनको कार्य खुलाई जरिवाना गर्न सक्नेछन् ।

यस्तो छ प्रस्तावित विधेयकमा कसुर अनुसार लाग्ने जरिवाना

(क) सवारी साधनको प्रयोग दर्ता गरिएको प्रयोजनभन्दा अन्य प्रयोजनमा गरेको पाइएमा सवारी चालकलाई दुईपाँग्रे र तीनपाँग्रे सवारी साधनको हकमा २ हजार रुपैयाँ, साना र मझौला सवारी साधनको हकमा ३ हजार रुपैयाँ र ठूला सवारी साधनको हकमा ५ हजार रुपैयाँ ।

(ख) चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाएमा वा १ वर्गको सवारी साधनको अनुमति प्राप्त गरी अनुमति प्राप्त नगरेको अर्को वर्गको सवारी साधन चलाएको पाइएमा दुईपाँग्रे र ३पाँग्रे सवारी साधनको हकमा २ हजार रुपैयाँ, साना तथा मझौला सवारी साधनको हकमा ५ हजार रुपैयाँ, ठूला सवारी साधनको हकमा १० हजार रुपैयाँ ।

(ग) बाटो इजाजतपत्र लिनु पर्नेमा सो नलिई सवारी सधान चलाएको पाइएमा १० हजार रुपैयाँ ।

(घ) सवारी जाँचपास गराउनु पर्नेमा त्यस्तो जाँचपास नगराई सवारी चलाएको पाइएमा दुईपाँग्रे सवारी साधनको हकमा ५ हजार रुपैयाँ, ३पाँग्रे तथा साना सवारी साधनको हकमा १० हजार रुपैयाँ र मझौला तथा ठूला सवारी साधनको हकमा १५ हजार रुपैयाँ ।

(ङ) सवारी प्रदूषण परीक्षणको प्रमाणपत्र नराखी सवारी साधन चलाएमा दुईपाँग्रे सवारी साधनको हकमा १ हजार रुपैयाँ, तीनपाँग्रे तथा साना सवारी साधनको हकमा २ हजार रुपैयाँ र मझौला तथा ठूला सवारी साधनको हकमा ५ हजार रुपैयाँ ।

(च) यातायात सेवाको पञ्जीकरण नगरी सार्वजनिक यातायात सेवा सञ्चालन गरेमा वा अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा, बदलेमा, हेरफेर गरेमा, विगारेमा, मेटेमा, च्यातेमा वा केरमेट गरेमा १५ हजार रुपैयाँ ।

(छ) सार्वजनिक सवारीमा भाडादरको सूची नराखेमा वा निर्धारिण गरिएको भन्दा बढी भाडा लिएमा तीनपाँग्रे सवारी साधनको हकमा २ हजार रुपैयाँ, साना सवारी साधनको हकमा ५ हजार रुपैयाँ र मझौला तथा ठूला सवारी साधनको हकमा १० हजार रुपैयाँ ।

(ज) दफा ३५ बमोजिम सार्वजनिक सवारीले पालना गर्नु पर्ने सर्तको पालना नगरेमा दुई वा तीनपाँग्रे सवारी साधनको हकमा ५ हजार रुपैयाँ, साना सवारी साधनको हकमा १० हजार रुपैयाँ र मझौला तथा ठूला सवारी साधनको हकमा १५ हजार रुपैयाँ ।

(झ) सवारी साधनको लागि निर्धारण गरिएको सुरक्षित गति सीमा भन्दा बढी गतिमा सवारी साधन चलाएमा, खतरायुक्त वा जोखिमयुक्त मालसामान ढुवानी गर्ने मालबाहक सवारी साधनमा तत्सम्न्धी साङ्केतिक चिन्ह राखेको नपाइएमा वा पार्किङ वा बिसौनिको लागि निर्धारण गरिएको स्थान बाहेक अन्यत्र सवारी साधन रोकेमा वा पार्किङ गरेको पाइएमा ५ हजार रुपैयाँ ।

(ञ) सवारी साधनको वजनको हद (सीमा) भन्दा बढी वजन राखेको वा सवारीमा यात्रीको लागि निर्धारण गरिएको अधिकतम सङ्ख्या भन्दा बढी यात्री राखेको पाइएमा १ हजार ५०० रुपैयाँ ।

(ट) लामो दुरीको बाटो वा मध्यम दुरीको बाटोमा सञ्चालन हुने सार्वजनिक यात्रीवाहक सवारी साधनमा निर्धारित सीट सङ्ख्या भन्दा बढी यात्री बोकेको पाइएमा मध्यम दुरीको बाटोको हकमा १० हजार रुपैयाँ र लामो दुरीको बाटोको हकमा २० हजार रुपैयाँ ।

(ठ) सुरक्षा पेटी र सुरक्षा टोप (हेल्मेट) नलगाई सवारी साधन चलाएमा ३ हजार रुपैयाँ ।

(ड) सवारी साधनमा अपारदर्शी सिसा राखेर वा सिसामा अन्य कुनै वस्तु राखेर बाहिरबाट भित्र नदेखिने गरी बनाई सवारी साधन चलाएमा १ लाख रुपैयाँ ।

(ढ) सार्वजनिक सडकमा मालसामान, निर्माण सामग्री वा सवारी साधन राखी वा पशु चौपाया छोडी मानिस वा सवारी साधनको आवागमनमा बाधा पुर्याएमा ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म

(ण) लापरवाही वा जोखिमयुक्त तरिकाले सवारी साधन चलाएमा ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म ।

(त) रोक्नु पर्ने अवस्थामा सवारी चालकले सवारी साधन नरोकेमा २ हजार रुपैयाँ

(थ) सार्वजनिक सडकको निर्धारित स्थान बाहेकका अन्य स्थानबाट सडकमा पैदल यात्रीले यात्रा गरेमा ५०० रुपैयाँ

(द) सवारी साधन, चालक, परिचालक, सुरक्षा कर्मचारी र अन्य कर्मचारी, यात्री, मालसामान र तेस्रो पक्ष वा बृहत् (कम्प्रिहेन्सीभ) बिमा नगराई सवारी साधन चलाएमा सार्वजनिक सवारीको हकमा १० हजार रुपैयाँ र अन्य सवारीको हकमा ५ हजार रुपैयाँ ।

(ध) अनुमति नलिई विदेशी सवारी साधन नेपालमा चलाएमा २५ हजार रुपैयाँ ।

(न) ओभरटेक गर्न नहुने वा असुरक्षित स्थानमा ओभरटेक गरेमा वा राती बत्ती नबाली सवारी साधन चलाएमा २ हजार रुपैयाँ ।

(प) स्तर कायम नगरी वा स्तर कायम नभएको सवारी साधनमा स्तर जनाएमा ५ हजार रुपैयाँ ।

(फ) लेन अनुशासन पालना नगरी सवारी चलाएमा, संकेत नदिई लेन परिवर्तन गरेमा,फुटपाथमा सवारी साधन चलाएमा, एकतर्फी सडक (वन वे) मा विपरीत दिशामा सवारी चलाएमा वा मोवाइल फोन प्रयोग गरी सवारी साधन चलाएमा १ हजार रुपैयाँ ।

(ब) ट्राफिक संकेत पालना नगरेमा १ हजार रुपैयाँदेखि २ हजार रुपैयाँ ।

(भ) सार्वजनिक सवारी साधनमा यात्रीलाई खतरा हुने गरी सामान ढुवानी गरेमा वा सवारी चलाउने प्रशिक्षार्थीले चालक अनुमति प्राप्त प्रशिक्षक साथैमा नराखी सवारी चलाएमा ३ हजार रुपैयाँ ।

(म) दुर्घटनापछि चालक, सहचालक र अन्य कर्मचारीले पालना गर्नुपर्ने कर्तव्य पालना नगरेमा २ हजार रुपैयाँ ।

(य) निषेधित क्षेत्रमा हर्न बजाएमा ५०० रुपैयाँ

(र) सवारी साधनबाट सडकमा फोहर फालेमा फोहर फाल्नेलाई १ हजार रुपैयाँ ।

(ल) ऐन बमोजिम साथमा राख्नु पर्ने कागजात साथमा नराखी सवारी साधन चलाएमा १ हजार रुपैयाँ । तर त्यस्तो कागजात विद्युतीय पोर्टलबाट देखाउन सकेको अवस्थामा जरिवाना गरिने छैन।

(व) सवारी साधनको ढोका खुला राखी सवारी साधन चलाएमा ५ हजार रुपैयाँ ।

(श) अवस्था ठीक नभएको सवारी साधन चलाएमा १ हजार रुपैयाँ ।

(ष) निषेधित क्षेत्र र समयमा सवारी साधन चलाएमा १ हजार रुपैयाँ ।

(स) सार्वजनिक सवारी साधनले तोकिएको सिट क्षमतासम्मको यात्री लिन इन्कार गरेमा २ हजार रुपैयाँ र मिटर ट्याक्सीले मिटरमा जान नमानेमा ३ हजार रुपैयाँ ।

(ह) दुईपाँग्रे सवारी साधनले अफलाइन सेवा प्रदान गरेमा २ हजार रुपैयाँसम्म ।

(क्ष) सवारी चालक र परिचालकले सवारी साधन चलाउँदा परिचयपत्र नलगाएमा १०० रुपैयाँ

माथि उल्लेखित कार्य दोस्रो पटक गरेमा ५० प्रतिशत र सोभन्दा बढी पटक गरेमा शतप्रतिशत थप जरिवाना हुनेछ व्यवस्था प्रस्ताव गरिएको छ ।


Back_to_top