काठमाडौं । चिनियाँ इलेक्ट्रीक भेहिकल जाइन्ट बीवाइडीले सिलायन-०८ एसयूभी तयार पारेको छ । चीनमा रहेका डिलर नेटवर्कमा पुगिसकेको सिलायन-०८ जुलाईको सुरुवातबाट बिक्री सुरू हुने अनुमान गरिएको छ ।
बीवाइडीले ओसियन सिरिज अन्तर्गत बनाएको सिलायन-०८ फ्यागशिप एसयूभी हो । जसलाई कम्पनीले दुई महिना अगाडि भएको बेइजिङ अटो शो २०२६ मा देखाएको थियो ।
बीवाइडी ब्राण्डमा आउने सिलायन-०८ को लम्बाइ ५०२० एमएम, चौडाइ १९९५ एमएम र उचाइ १७६० एमएम छ । साइजकै आधारमा हेर्दा नै कति ठूलो होला भन्ने अनुमान गर्न सकिन्छ । यसमा ३०३० एमएम लामो ह्वीलवेस छ ।
कम्पनीले सिलायन-०८ लाई प्योर ब्याट्री इलेक्ट्रीक र प्लगइन हाइब्रिड गरी दुई अप्सनमा ल्याउने छ । प्लगइन हाइब्रिड मोडलको प्योर ईभी रेन्ज ४०० किलोमिटर रहने सीएलटीसी टेस्टले देखाएको छ ।
प्योर ब्याट्री इलेक्ट्रीक मोडलको रेन्ज र ब्याट्री साइजको विषयमा कुनै जानकारी प्राप्त छैन । कम्पनीले सिलायन-०८ को प्योर ब्याट्री इलेक्ट्रीक मोडललाई टु ह्वील र अल ह्वील ड्राइभ सिस्टमको साथ बजारमा ल्याउने छ ।
डिलर नेटवर्कमा देखिएको सिलायन-०८ लाई झट्ट हेर्दा नै प्रिमियम टेक फिचर लोडेड भएर आएको अनुमान गर्न सकिन्छ । सम्भवत यसमा बीवाइडीको ‘डिसुस-ए इन्टेलिजेन्ट एयर बडी कन्ट्रोल सिस्टम’ रहने छ । ड्यूल चेम्बर एयर सस्पेन्स, रियर ह्वील स्टेयरिङ र एड्भान्स ड्राइभिङ फङ्गसनहरु रहने छ ।


