काठमाडौं । ४ वर्षदेखि चिकर्टो बोकेर हिँडेका यातायात व्यवस्था कार्यालय, राधेराधेका सेवाग्राहीले अझै लाइसेन्स हात पर्न ६ महिनासम्म कुनुपर्ने भएको छ ।
यातायात व्यवस्था विभागले मंगलबार १ लाख ७६ हजा २५० थान लाइसेन्स वितरणका लागि कार्यालयमा पठाएको थियो । तर, पर्याप्त जनशक्ति नहुँदा ती सबै लाइसेन्स वितरण गरिसक्न ६ महिनासम्म लाग्न सक्ने कार्यालयले जनाएको हो ।
कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले ३ दिन (मंगलबारदेखि बिहीबारसम्म)मा ३ हजार लाइसेन्स वितरण गरिएको जानकारी दिए । उनका अनुसार लाइसेन्स वितरणका लागि बिहान ९ बजेदेखि ५ बजेसम्म दैनिक ८ जना कर्मचारी खटाइएको छ । उनीहरूले दैनिक १ हजार लाइसेन्स वितरण गरिरहेको उनले बताए ।
‘मंगलबारदेखि लाइसन्स वितरण सुरु गरेका छौं, ३ दिनमा ३ हजार वितरण गर्यौं । अहिले ८ जना कर्मचारी लाइसेन्स वितरणमा ९:०० बजेदेखि ५:०० बजेसम्म खटिँदा पनि दैनिक १ हजारभन्दा बढी वितरण गर्न सकिँदैन, यही अवस्थामा सबै लाइसेन्स वितरण गर्न ६ महिना समय लाग्छ,’ उनले भने ।
सरकारले पठाएको लाइसेन्स लिन दैनिक भीड नगर्न सेवाग्राहीलाई आग्रह गर्दै उनले लाइसेन्सको बिलदेखि मोबाइल एप्स प्रयोग गरेर लाइसेन्स देखाउन सकिने भएकाले भीड नगरी बिस्तारै आइदिन सेवाग्राहीलाई आग्रह गरे।
कार्यालयले सवारी अनुमतिपत्र वितरण सुरू गरेपछि ४ वर्षदेखि लाइसेन्स कुरिरहेका सेवाग्राही बिहान ७ बजेदेखि नै कार्यालय अगाडि भीड लाग्न थालेकाे छ । बिहान ९ बजे कार्यालय खुल्नेबित्तिकै सवारी अनुमतिपत्र वितरण गर्ने गरेको बस्नेतले जानकारी दिए।
विभागले सन् २०२२ देखि २०२५ सम्म आवेदन दिएका सेवाग्राहीको लाइसेन्स छापेर पठाएको हो । अझै यस कार्यालयका १ लाख थान लाइसेन्स छपाइ हुन बाँकी छ ।

