काठमाडौं । अर्थ मन्त्रालयले रसुवागढीका भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईसहित ९ कर्मचारीहरूलाई जिम्मेवारीमुक्त गरेको छ।
भन्सार यार्डमा सवारी साधन नआईकन गाडीको जाँचपास गराएको सूचनापछि भन्सार प्रमुख भट्टराईसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरेर भन्सार विभागमा तानिएको हो ।
अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले यस प्रकरणमा भन्सारप्रमुखसहित ९ जनालाई जिम्मेवारीमुक्त गरेर भन्सार विभाग तानिएको जानकारी दिए ।
उनका अनुसार अहिले उक्त सम्बन्धमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान सुरु गरिसकेको छ । उनले अर्थमन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित अनुसन्धान टोलीले छानबिन गरिरहेको बताए ।
प्रारम्भिक रूपमा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनी माथि अनुसन्धान चलिरहेको उनले बताए ।
सशस्त्र प्रहरी बलले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट बुधबार राति ७७९ वटा गाडी नियन्त्रणा लिएको थियो ।


