कारमा हुने ५ प्रकारका सस्पेन्सन, कुन धेरै राम्रो ?

काठमाडौं । सस्पेन्सन गाडीमा हुने एउटा मुख्य पार्ट्स हो । यो यात्रुलाई आराम प्रदान गर्न, विभिन्न सतहहरू र गाडीको गतिमा सवारीको गुणस्तर तथा स्थिरता सुधार गर्न महत्त्वपूर्ण हुन्छ ।

कार निर्माताहरूले यसको लागत, रियल वर्ल्डको उपयोग र प्याकेजिङको सीमितताका आधारमा सस्पेन्सन प्रणालीहरू छनोट गर्छन् । वर्षौंदेखि धेरै प्रकारका सस्पेन्सनहरू प्रयोगमा छन् । यहाँ हामीले बजारमा चल्तीमा रहेका कारमा प्रयोग हुने मुख्य सस्पेन्सनको बारेमा चर्चा गरेका छौं ।

१. नन इन्डिपेन्डेन्ट सस्पेन्सन

यसलाई सोलिड एक्सेल वा रिजिड एक्सेल सस्पेन्सन पनि भनिन्छ । यो अझै पनि प्रयोगमा रहेको सबैभन्दा पुरानो र सरल सस्पेन्सन डिजाइनहरू मध्ये एक हो । यो सेटअपमा पाँग्राहरूलाई जोड्ने एउटा ठोस धातुको एक्सेल हुन्छ, जसले मुख्य भार वहन गर्ने सदस्यको रूपमा काम गर्छ।

यस प्रणालीमा गाडीका दुईवटा पाँग्राहरू (दायाँ र बायाँ) एउटा बलियो र ठोस धातुको डन्डा (एक्सेल) द्वारा आपसमा सिधा जोडिएका हुन्छन् । दुवै पाँग्रा एकै ठाउँमा बाँधिएका हुनाले एउटा पाँग्रालाई जे हुन्छ, त्यसको सीधा असर अर्को पाँग्रामा पनि पर्छ। उदाहरणका लागि यदि गाडी गुडिरहेको बेला देब्रे पाँग्रा खाल्डोमा पर्यो भने त्यसको कडा धक्का दाहिने पाँग्रा र पूरै गाडीले महसुस गर्छ।

 

यो बनावटमा निकै सरल र एकदमै बलियो हुन्छ। धेरै भारी बोक्न सक्ने भएकाले यसलाई ट्रक, पिकअप गाडीहरू र अफ रोड हिँड्ने गाडीहरू जस्तै मारुती जिम्नी र जीप र्याङ्गलारमा प्रयोग गरिन्छ। यसमा गाडी धेरै हल्लिने हुनाले यात्रा त्यति आरामदायी हुँदैन र तीव्र गतिमा गाडीको सन्तुलन मिलाउन अलि गाह्रो हुन्छ।

२. सेमी इन्डिपेन्डेन्ट सस्पेन्सन

यो नन इन्डिपेन्डेन्ट र फुल्ली इन्डिपेन्डेन्ट सस्पेन्सनको बीचको रूप हो। यसमा पनि पाँग्राहरू एउटा धातुको बिम (फ्लेक्सिबल डन्डा) ले जोडिएका त हुन्छन् । तर त्यो डन्डा कडा नभएर अलिकति बटारिन वा लचकदार हुन सक्ने खालको हुन्छ।

जब एउटा पाँग्रा खाल्डोमा परेर माथि तल हुन्छ, तब बीचको लचकदार धातुको बिम आफैँ बटारिन्छ। यसले गर्दा एकतर्फको धक्का अर्को पाँग्रासम्म पुग्न पाउँदैन वा निकै कम मात्र पुग्छ। यसले सोलिड एक्सेलको तुलनामा खाल्डाखुल्डीको धक्कालाई धेरै राम्रोसँग सोस्छ।

प्रायः ठूला कार निर्माताहरूले आफ्ना किफायती मोडलहरूको पछाडिको भागमा सेमी इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गर्छन्। धेरैजसो मास मार्केट ह्याचब्याक, सेडान र क्रसओभर एसयूभीहरू ट्विस्ट बिम रियर सस्पेन्सन हुन्छ।

लागत प्रभावी हुनुका साथै सेमीइन्डिपेन्डेन्ट सस्पेन्सनले सवारी आराम र ह्याण्डलिङ विशेषताहरूको सन्तुलित मिश्रण प्रदान गर्दछ। यसको अपेक्षाकृत कम्प्याक्ट प्याकेजिङले कार निर्माताहरूलाई पछाडिको क्याबिन सिट र बुट स्पेसलाई अझ राम्रोसँग मिलाउन अनुमति दिन्छ।

यो पूर्ण रूपमा स्वतन्त्र प्रणालीहरू जत्तिको परिष्कृत नभए तापनि ट्विस्ट बिम सेटअपहरू सोलिड एक्सेल प्रणालीहरू भन्दा एकतर्फी खाल्डाखुल्डीको धक्कालाई अलग राख्नमा राम्रो हुन्छन् ।

३. फुल्ली इन्डिपेन्डेन्ट सस्पेन्सन

यो गाडीको यस्तो आधुनिक सस्पेन्सन प्रणाली हो, जसमा गाडीको एउटै एक्सेलमा रहेका दायाँ र बायाँ दुवै पाँग्राहरू एक अर्कासँग सिधा जोडिएका हुँदैनन्। यस प्रणालीमा एउटा पाँग्राले भोगेको धक्का वा हलचलको असर अर्को पाँग्रामा पर्दैन। प्रत्येक पाँग्राले आफ्नो आवश्यकता अनुसार स्वतन्त्र रूपमा काम गर्न सक्छन्।

इन्डिपेन्डेन्ट सस्पेन्सनको सबैभन्दा सामान्य प्रकारहरू मध्ये एक म्याकफर्सन स्ट्रट हो । जसको नाम अमेरिकी अटोमोबाइल इन्जिनियर अर्ल एस. म्याकफर्सनको नामबाट राखिएको हो । मुख्य रूपमा अगाडिको भागमा प्रयोग गरिने यस प्रणालीमा एउटा सक एब्जर्भर (सकर्स)को वरिपरि बेरिएको क्वाइल स्प्रिङ हुन्छ । यो एकाइले सस्पेन्सनको लागि माथिल्लो कन्ट्रोल आर्मको रूपमा पनि काम गर्छ। मारुती सुजुकी, टाटा मोटर्स र हुन्डाई जस्ता ब्राण्डका सबै किफायती मोडलहरूले यो सेटअप प्रयोग गर्छन् ।

४. डबल विसबोन

डबल विसबोन सस्पेन्सन तुलनात्मक रुपमा महँगो हुनछ । यसको डिजाइनले पाँग्रालाई आफ्नो ठाउँमा राख्नको लागि माथिल्लो र तल्लो कन्ट्रोल आर्महरू प्रयोग गरिएको हुन्छ ।

यो सस्पेन्सन म्याकफर्सन स्ट्रटभन्दा कम ठाडो ठाउँ ओगट्ने हुनाले, डबल विसबोन होचा स्पोट्र्स कारहरू र अन्य उच्च स्तरका पर्फोमेन्स मोडलहरूमा राम्रोसँग मिल्छ । जहाँ यसले अनुमानित ट्र्याक्सन र स्टेयरिङ फिडब्याक प्रदान गर्न मद्दत गर्दछ।

यस प्रकारको सस्पेन्सन महिन्द्रा थार रक्स र टोयोटा फर्चुनर जस्ता एसयूभीहरूको अगाडिको भागमा प्रयोग गरिएको छ । त्यस्तै, ज्यागुआर एफ टाइप, बीएमडब्लू ५ सिरिज जस्ता उच्च स्तरका मोडलहरूको अगाडि र ल्याण्ड रोभरका अधिकांश लाइन अपहरूमा पनि प्रयोग गरिन्छ ।

५. मल्टी लिंक सस्पेन्सन

मर्सिडिज बेन्ज १९०ई सँग डेब्यू गरेको मल्टी लिंक प्रणाली अझ बढी जटिल र महँगो छ । यहाँ सस्पेन्सनको कामहरू आवश्यक स्प्रिङ्स र सक एब्जर्भरहरूका साथै तीन वा सोभन्दा बढी स्वतन्त्र कन्ट्रोल आर्महरू बीच विभाजित गरिएको हुन्छ । जसको परिणामस्वरूप अन्य कुनै पनि इन्डिपेन्डेन्ट सस्पेन्सन डिजाइन भन्दा अझ बढी आरामदायी सवारी र अझ राम्रो ह्याण्डलिङ प्राप्त हुन्छ। हाल यो सस्पेन्सन डिजाइन होण्डा एकर्ड, अउडी ए ६ र फक्सवागन गल्फ आरका प्रयोग गरिएको छ ।

आधुनिक समयको कारमा सस्पेन्सन प्रणालीले विभिन्न प्रकारका उपयोग परिदृश्यहरूलाई ध्यानमा राख्छ । किफायती मोडलहरूले लागत नबढाईकन उत्कृष्ट सवारी ह्याण्डलिङ सन्तुलनका लागि धेरैजसो अगाडि म्याकफर्सन स्ट्रट्स र पछाडि टर्सन ट्विस्ट बिम सेटअप प्रयोग गर्छन् । यद्यपि, उच्च स्तरका कारहरूमा सामान्यतया चारैतिर पूर्ण रूपमा इन्डिपेन्डेन्ट सेटअप हुन्छ । अझ बढी स्पोर्टी कारहरुका लागि एक्टिभ ड्याम्पर्ससँग जोडिएको डबल विसबोन वा मल्टीलिंक सस्पेन्सन अक्सर मानक हुने गर्दछ ।


Back_to_top