काठमाडौं । सरकारले आफ्नै लगानीमा काठमाडौं उपत्यकामा २७.५ किलोमिटर लामो रेलमार्ग निर्माण गर्ने भएको छ ।
रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले काठमाडौं उपत्यकाभित्र २७.५ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने भएको हो ।
आयोजनाले उक्त रेलमार्गको डीपीआर गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गर्दै अन्तर्राष्ट्रिय स्तरको आशयपत्र आह्वान गरेको हो ।
आयोजनाका अनुसार उक्त रेलमार्गले काठमाडौंको आधा चक्रपथसहित भित्रि सहरी क्षेत्रलाई समेट्ने । प्रस्तावित रेलमार्गको रुट नारायणगोपाल चोक-चाबहिल-कोटेश्वर-सातदोबाटो-रत्नपार्क-नारायणगोपाल तय गरिएको छ ।
सरकारले यो आयोजना वैदेशिक ऋण वा कुनै देशको आर्थिक सहयोगमा नभई आफ्नै लगानीमा निर्माण गर्न लागेको हो ।
इच्छुक अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूले २०२६ जुन १५ (२०८३ आर १ गते) दिउँसो १२ बजेभित्र अनलाइन आवेदन दिइसक्नुपर्नेछ । तोकिएको अन्तिम मितिमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टलाई अन्तिम दिन मानिने सूचनामा उल्लेख छ ।
सरकारले डीपीआरका लागि जस्तासुकै कम्पनीको आउनबाट रोकेको छ । दक्ष र अनुभवी कम्पनीले मात्रै ठेक्का पाउने सुनिश्चित गरी मापदण्ड तय गरिएको छ ।
आशयपत्रको मूल्यांकन परामर्शदाता कम्पनी र त्यहाँ कार्यरत मुख्य कर्मचारीको योग्यता, अनुभव र क्षमताका आधारमा गरिने छ । जसमा मुख्य कर्मचारीको योग्ययता ५० प्रतिशत, अनुभव ४० प्रतिशत र क्षमता १० प्रतिशतका आधारमा गरिने आयोजनाले जनाएको छ ।
प्रारम्भिक छनोट (सर्टलिस्ट)मा पर्नका लागि आवेदक कम्पनीले कम्तीमा ७० अंक ल्याउनुपर्नेछ । यसरी सर्टलिस्टेड भएका कम्पनीहरूलाई मात्र प्राविधिक र आर्थिक प्रस्तावका लागि आमन्त्रण गरिने आयोजनाले जनाएको छ ।
छनोट हुने कम्पनीले विस्तृत सम्भाव्यता अध्ययनका आधारमा काठमाडौंका लागि रेल, मेट्रो रेल वा मोनोरेलमध्ये कुन प्रणाली उपयुक्त हुन्छ भन्ने विषयमा पनि सिफारिस गर्नेछन्। कम्पनीले यो रेलमार्गको प्राविधिक, आर्थिक तथा वातावरणीय पक्षको मूल्यांकनको अध्ययन गर्नेछ ।
सरकारले यस बहुवर्षीय पूर्वाधार परियोजनाको विस्तृत अध्ययनका लागि ३२ करोड ३३ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।
सरकारले वर्षौंदेखि काठमाडौं उपत्यकामा रेलमार्ग बनाउने घोषणा गर्दै आए पनि कागजमै सीमित हुँदै आएको थियो । ठोस रूपमा काम अघि बढ्न सकेको थिएन ।
२०७५ चैतमा भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकाको ७७.२८ किमी दुरीमा सहरी मेट्रो रेल निर्माण गर्ने प्रस्ता गरिएको थियो । बुट मोडेलमा निर्माण गर्ने भनिएको उक्त रेलमार्गका लागि ३ खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँको प्रस्ताव समेत आएके थियो । तर, त्यसपछि कुनै काम अघि बढेकाे छैन ।


