काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मुग्लिन–पोखरा सडक आयोजना अन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको स्थलगत निरीक्षण गरेका छन् ।
उनले आइतबार बिहान स्थलगत अनुगन गर्दै पुल निर्माणको प्रगति बारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्र्रता दिन निर्देशन समेत दिएका छन् ।
‘कोकेबल-स्टेड’ प्रविधिमा निर्माण भइरहेको उक्त पुलको हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको छ ।
उक्त पुल निर्माणको ठेक्का २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । तोकिएको समयमा काम नसकिएपछि ठेक्का म्याद २०८३ वैशाखसम्म म्याद थपिएको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । यो पुलको लागत भ्याटबाहेक ९४ करोड रूपैयाँ रहेको छ ।
१९० मिटर लामो उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ। हाल भइरहेको पुललाई समेत गणना गर्दा ६ लेनको पुल हुनेछ । ६ लेनको मुग्लिन पोखरा सडकमा अहिले रहेको पुलको तल र माथि गरी आकर्षक बनावटका दुई नयाँ ‘सिग्नेचर’ पुल बनिरहेको छ ।
‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण बढ्नेछ। यसलाई थप आकर्षण दिन आधुनिक तवरका बत्तीहरू पनि जडान गर्ने योजना रहेको छ । सो बत्तीको जडानले रातको समय पोखरालाई झिलिमिली पार्नेछ ।

