मोटरसाइकलमा विश्वमै पहिलोपटक नयाँ सेफ्टी फिचर प्रयोग गर्दै होन्डा

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता होन्डाले मोटरसाइकलमा ‘स्टेयरिङ असिस्ट सिस्टम’ टेक्नोलोजीको प्रयोग गर्ने भएको छ ।

मोटरसाइकलसँगै चालकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले नयाँ एड्भान्स टेक्नोलोजीका रूपमा ‘स्टेयरिङ असिस्ट सिस्टम’ ल्याउन लागेको हो ।

मोटरसाइकलमा ‘स्टेयरिङ असिस्ट सिस्टम’ प्रयोग हुन लागेको यो विश्वमै पहिलो पटक हो । होन्डाले ल्याउन लागेको यो एड्भान्स सिस्टमले आपतकालीन वा अर्को साधनसँग ठोकिन लागेको अवस्थाहरूमा मोटरसाइकलले आफैं अटोमेटिक दिशा परिवर्तन गरेर नियन्त्रण गर्ने काम गर्छ ।

मोटरसाइकलहरूमा सुरक्षका हिसाबले एकदमै उपयुक्त हुनसक्ने यो स्टेयरिङ असिस्ट सिस्टमका लागि होन्डाले पहिलो पटक पेटेन्ट दर्ता गरेको हो ।

हाल बजारमा पाइने प्राय एड्भान्स मोटरसाइकलहरूमा एबीएस, ट्रयाक्शन कन्ट्रोल, क्रुज कन्ट्रोल, ह्वील असिस्ट लगायत सेफ्टी फिचर पाइन्छन् । यी फिचरहरू भने सबै राइडरले नै कन्ट्रोल गर्नुपर्ने हुन्छ ।

तर, स्टेयरिङ असिस्ट सिस्टमले भने दुर्घटना हुन लागेको अवस्थामा मोटरसाइकल आफैं कन्ट्रोल गर्छ । जसमा मोटरसाइकल राइडरको हातमाभन्दा पनि स्टेयरिङ असिस्ट सिस्टमको कन्ट्रोलमा हुनेछ । यस सिस्टमले दुर्घटना हुनबाट सजिलै बचाउने देखिन्छ ।

यो सिस्टमले क्यामेरा, ब्लाइन्ड स्पट निगरानी सिस्टम र अन्य सेन्सरहरूको मद्दतबाट काम गर्नेछ । मोटरसाइकलमा दिइने सेन्सरहरूले सडकमा रहेका सम्भावित जोखिमहरू सेन्सरबाट क्याप्चर गर्नेछ । जसमा कुनै खतरा देखियो भने सिस्टमले परिस्थिति अनुसार मोटरसाइकललाई कन्ट्रोल गर्छ ।

निकै महत्वपूर्ण पद्धतिबाट बन्ने यो सिस्टमले दुई फरक तरिकाले काम गर्नेछ। राइडरले पहिले नै ब्रेक, थ्रोटल वा स्टेयरिङमार्फत कन्ट्रोल गर्न खोजिसकेको छ भने सिस्टमले राइडरलाई असर नपर्ने र सन्तुलन नबिग्रने गरी कम सहयोग गर्छ। यसका अलावा राइडरले जोखिमपूर्ण अवस्थामा छिटो कुनै प्रतिक्रिया देखाउन सकेन भने सिस्टमले आफैं पूर्ण रूपमा काम गर्नेछ । जसले अचानक झट्का नलाग्ने तरिकाले मोटरसाइकलको दिशा परिवर्तन गर्न सहयोग गर्छ ।


Back_to_top