७ लाख २० हजार डाउन पेमेन्टमा नेक्सन इभी, एनएमबि बैंकको सस्तो कर्जा सुविधा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग र एनएमबि बैंक बीच कर्जा प्रदान गर्ने सम्झौँता भएको छ । सम्झौँता अनुसार टाटाको इलेक्ट्रीक एसयूभी नेक्सन किन्न चाहने ग्राहकले सहज कर्जा सुविधा पाउने छन् ।

अहिले एनएमबि बैंकको वेसरेट ७.१९ प्रतिशत रहेको छ । बैंकले यही दरमा विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ ।

सिप्रदी र एनएमबि बीचको कर्जा सम्झौँता अनुसार नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियम सहित बैंकको बेसरेट ब्याजदरमा २४ घन्टा भित्र कर्जा सुविधा पाउने छन् । बैंकले ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने छ ।

सम्झौँतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंकको तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

अहिले टाटा नेक्सन इभीको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा गाडी किन्न चाहने व्यक्ति वा संस्थाले २० प्रतिशत डाउन पेमेन्ट वापत ७ लाख १९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने बाँकी रकम कर्जा सुविधा लिन सक्ने छन् ।

यसरी लिएको कर्जा ७ वर्षमा तिर्दा ग्राहकले मासिक किस्ता ४३ हजार ७२५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । बैंकले ५ वर्ष परिवर्तन नहुने स्कीममा पनि गाडी कर्जा उपलब्ध गराउँदै आएको छ । यो स्कीममा गाडी किन्ने ग्राहकले ८.४९ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ ।


Back_to_top