काठमाडौं । सन् २०२६ भित्र टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ५ नयाँ मोडल नेपाल ल्याउन सक्ने देखिएको छ ।
कम्पनीले भारतमा बिक्री सुरु भइसकेका र चाँडै लन्च हुने तयारीमा रहेका विभिन्न ५ नयाँ मोडल नेपाल ल्याउने देखिएको हो ।
सिप्रदीले अहिले नेपालमा बिक्री गरिरहेको तर भारतमा अपग्रेड भएर आइसकेको मोडलहरू पनि ल्याउने छ । कम्पनीले अहिले बिक्री गर्दै आएको पन्च ईभी भारतमा अपग्रेड भइसकेको छ । त्यसैले नेपाली बजारमा पनि अबको केही महिना भित्रै नयाँ पन्च ईभी आउने छ ।
यसका अलावा कम्पनीले अर्को महिना भारतमा लन्च गर्ने तयारी भएको सियरा ईभी पनि नेपाल ल्याउने छ । सिप्रदीले आगामी अटो शोबाट सियरा ईभी बिक्री थाल्ने अनुमान गर्न सकिन्छ । टाटा सियरा अहिले पेट्रोल इन्जिनमा मात्रै उपलब्ध छ ।
टाटाको चर्चित एसयूभी ह्यारीयको इलेक्ट्रीक मोडल पनि नेपाल आउन सक्नेछ । सिप्रदीले अहिलेसम्म ह्यारीयर ईभी कहिले नेपाल आउँछ भन्ने विषयमा एकिन जानकारी बाहिर आएको छैन । तर, भारतमा भएको टेस्टमा ह्यारीयरले जस्तोसुकै बाटोमा पनि उच्च पर्फमेन्स गरेको देखिन्छ । त्यसैले नेपाली सडकको लागि पनि ह्यारीयर ईभी निकै उपयोगी हुन सक्ने देखिन्छ ।

उसोत टाटाले टियागो ईभी पनि अपडेट गरेर ल्याउन लागेको छ । कम्पनीले अहिले भारतको विभिन्न स्थानमा परीक्षण गरिरहेको नयाँ टियागो पनि चाँडै नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
टाटा मोटर्सले सन् २०२६ मै बजारमा उतार्ने अभिन्या एसयूभी पनि अर्को बहुप्रतिक्षित मोडल हो । कम्पनीले सन् २०२६ मा भारतमा लन्च गर्ने अभिन्यालाई टाटाको ‘नयाँ जेनेरेशन भेहिकल’ भनेर पनि व्याख्या गर्ने गरेको पाइन्छ ।
यदि, सन् २०२६ को तेस्रो क्वाटरसम्ममा भारतमा आएको खण्डमा अभिन्या नेपाल पनि यही वर्ष आउन सक्ने देखिन्छ । टाटा मोटर्सले आफ्ना सफल मोडलहरू अपडेट गर्ने र नयाँ मोडलहरू थप्ने क्रम जारी राखेका कारण नेपालमा पनि नयाँ उत्पादन क्रमशः आउँदै जाने अनुमान गर्न सकिन्छ ।

