काठमाडौं । अटोमेटिक कारको विक्री सहरी क्षेत्रमा बढ्दै गएको छ । चलाउन सहज भएकै कारण उपत्यकामा हुने जाममा सहज यात्रा गर्न धेरैले अटोमेटिक कार खोज्न थालेका छन् ।
अटोमेटिक कारमा विभिन्न प्रविधि प्रयोग भएको पाइन्छ । यी मध्य अटोमेटेड म्यानुयल ट्रन्समिशन (एएमटी) सबैभन्दा सस्तो प्रविधि हो । यसमा क्लचको प्रयोग हुँदैन भने चालकले गियर परिवर्तन गरिरहनु पर्दैन । यद्यपी यसमा गियर सिफ्ट भएको चालकले सहजै पत्ता लगाउन सक्ने छन् ।
एएमटीको बजार विस्तार भएसँगै डाट्सन र टाटाले नयाँ गाडी बजारमा ल्याएका छन् । डाट्सनको रेडी गो र टाटाको टियागो नेपाली बजारको लागि नयाँ एएमटी गियरबक्स भएका गाडी हुन् ।
तुलनात्मकरुपमा सस्तो प्रविधि भएकै कारण इन्ट्री लेवल कारहरुमा यसको प्रयोग भएको पाइन्छ । अहिले नेपालमा उपलब्ध मध्ये सबैभन्दा सस्तो मूल्यमा किन्न सकिने कार डाट्सन रेडी गो । यसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ कायम गरेर विक्री हुँदै आएको छ ।
रेनो क्वीड, सेलेरियो एक्स, सेन्ट्रो म्याग्ना र टियागो पनि नेपाली बजारमा उपलब्ध कम मूल्यको अटोमेटिक कार हो ।
हुन्डाईले सेन्ट्रो म्याग्ना एएमटीको मूल्य ३० लाख ५६ हजार रुपैयाँ कायम गरेर विक्री गर्दै आएको छ । १.१ लिटर क्षमताको फोर सिलिण्ड इन्जिन प्रयोग भएको सेन्ट्रो हुन्डाईको इन्ट्री लेवल कार हो ।

रेनोको सर्वाधिक विक्री हुने मोडल क्वीड आरएक्सटी अप्सनल एएमटीको मूल्य २६ लाख ४९ हजार रुपैयाँ रहेको छ । १.० लिटर क्षमताको थ्रि सिलिण्डर इन्जिन र उत्कृष्ट माइलेको कारण क्वीड चर्चामा रहँदै आएको छ ।
मारुती सुजुकीले विक्री गर्ने एसप्रेसो भिएक्सआई प्लस एएमटी गियरबक्समा पनि उपलब्ध रहेको छ । एसप्रेसोमा १.० लिटर क्षमताको इन्जिन रहेको छ । यसलाई कम्पनीले ग्राहकको माग अनुसार अर्डर लिएर मात्र आयात गर्दै आएको छ । यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
टाटाले केहि दिनअघिबाट बुकिङ सुरु गरेको टियागो पनि अटोमेटिक गियरबक्समा उपलब्ध हुने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक विक्री हुने ह्याचव्याकमा एएमटी गियरबक्स दिएको हो । १.२ लिटर क्षमताको थ्रि सिलिण्डर युक्त इन्जिन रहेको टियागो अटोमेटिकको मूल्य ३३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

