ग्रेटर नोयोडा । उत्तर प्रदेशको ग्रेटर नोयोडामा जारी ‘अटो एक्स्पो २०२३’ मा सार्वजनिक भएका नयाँ विद्युतीय गाडी मध्य ‘ईभीए’ मोडलको सानो कारले सबै पत्रकार र ब्यवसायीको ध्यान खिच्न सफल भएको छ । सहरी क्षेत्रमा मोटरसाइकलको उत्कृष्ट विकल्प बन्न सक्ने भएकोले यो कारमा आकर्षण बढेको हो ।
चालकसहित तीन जनाले यात्रा गर्न सक्ने यो आकर्षक कारमा थुप्रै प्रिमियम फिचरहरु दिइएका छन् । अर्वान मोविलिटीलाई ब्यवस्थित बनाउने ‘ईभीए’ मिनी कारलाई सुरक्षा, आरामदायी पन र उत्कृष्ट ब्याट्री टेक्नोलोजीको कारण धेरैले मन पराएका हुन् ।

अगाडि एक जना चालक र पछाडि दुई जना यात्रु बस्न मिल्ने यो कारले २५० किलोग्राम सामान बोक्न सक्ने क्षमता राख्छ । त्यसैले कम्पनीले यसलाई चालक सहित दुई एडल्ट र एक बच्चाको लागि उपयुक्त भनेको छ ।
‘ईभीए’लाई भाइब मोविलिटीले बजारमा ल्याएको हो । यसमा १४ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । लिक्विड कुल्ड टेक्नोलोजी प्रयोग भएको यो कारको अधिकतम मोटर पावर क्षमता १२ किलोवाट छ ।

अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको कारमा पावर स्टेरिङ, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल डिस्प्ले, एसी, एप्पल कार प्ले, एन्ड्रोइड अटो, पानारोमिक शनरुफ जस्ता फिचर पाउन सकिन्छ ।

कम्पनीले यसको छतमा दिएको शोलार प्यानलले दैनिक १० किलोमिटर यात्रा गर्न पुग्ने ब्याट्री चार्ज गर्ने कम्पनीको दावी छ । थोरै यात्रा गर्नेको लागि शोलार सुविधा निकै उपयोगी हुनेछ ।

सानो ब्याट्री र कम क्षमताको मोटर भएकोले यसको रेन्ज २५० किलोमिटर रहने कम्पनीले दावी गरेको छ । यो कारले सून्यदेखि ४० किलोमिटर स्पीड केबल ५ सेकेन्डमा भेट्टाउन सक्ने छ ।
अटो एक्स्पो २०२३ को अवलोकन गर्न गएका थुप्रै नेपाली ब्यवसायीहरुले यसलाई चासोका साथ हेरेको देखिन्थ्यो । यस्तोमा जुन कुनै कम्पनीले तत्काल यसलाई नेपाल ल्याउन प्रयास गर्ने देखिन्छ ।

