नयाँ दिल्ली । बीवाइडी इन्डियाले नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनको लागि गएको नेपाली पत्रकारहरुको टोलीसँग आफ्नो योजना लगायतका विषयमा जानकारी दिएको थियो । भारतमा बीवाइडीको योजना बारे जानकारी दिदै ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) गरिएको थियो ।
प्वाल पारेको ब्याट्रीवाट धुवाँसम्म पनि निस्केको थिएन । त्यही तरिकाले थिचेर एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो । निकै सुरक्षाको विधि अपनाएर गरिएको यो परिक्षणले बीवाइडीको ब्लेड टेक्नोलोजीको विषयमा जानकारी दिएको थियो ।
विश्वभर ब्लेड ब्याट्रीको सुरक्षाको विषयमा चर्चा हुन्छ । त्यसलाई हामीले प्रत्यक्ष हेरेका थियौं । बीवाइडीले एनसीएम र ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) गरेको थियो । जसमा ब्लेड ब्याट्री खरो उत्रियो ।
ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टीग्रेट मात्र पुगेको थियो । जसको कारण पड्कने र धुँवा आउने कुनै समस्या देखिएन । तर, एनसीएम ब्याट्री ठूलो आवाज गरेर पड्केको थियो ।

निकै स्मार्ट र स्लीम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ । यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ । त्यही कारण पातलो तथा लामो व्याट्री प्याक बन्छ ।
ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त हुन्छ । अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ ।
ब्लेड ब्याट्रीको फाइदा
ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई ३ हजार पूर्याउनु हो, त्यही कारण सिंगल व्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यो ब्याट्रीलाई फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीको दावी छ । बीवाइडीले हान मोडलमा प्रयोग गरेको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ६०५ किलोमिटरसम्म रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।


