कम मूल्यका कारः ३० लाखभन्दा कममा १८ भेरियन्ट (सूचीसहित)

काठमाडौं । विगत तीन वर्षमा कारको मूल्य तिब्र गतिमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको स्वास्थ्य समस्या, भारत सरकारले सुरक्षा फिचरमा गरेको कडाई र नयाँ प्रदुषण मापदण्डको कारण नेपालमा पनि कारको मूल्य तिब्र रुपमा बढेको हो ।

अहिले नेपाली बजारमा ३० लाखभन्दा कम मूल्यको कार किन्नु परेको खण्डमा ग्राहकसँगै धेरै छनोट नै छैन । कम मूल्यका कार नै २० लाख रुपैयाँ पुगेको छ । यस्तोमा ३० लाखभन्दा कम मूल्य राखेर नेपालमा विक्री वितरण भइरहेका कार कति छन् भन्ने जिज्ञासा धेरै मानिसमा रहेको पाइन्छ ।

अहिले बजारमा ३० लाखभन्दा कम मूल्यमा ५ ब्राण्डले १८ भेरियन्टको विक्री गर्दै आएका छन् । १८ भेरियन्ट मध्ये सबैभन्दा धेरै मोडल र भेरियन्ट उपलब्ध गराउने ब्राण्ड मारुती सुजुकी हो । कम्पनीले अहिले पनि आफ्नो ४ मोडलका कार ३० लाखभन्दा कम मूल्यमा विक्री गर्दै आएको छ ।

मारुती सुजुकीले अल्टो, एसप्रेसो, वागेनआर र सेलेरियो मोडलको मूल्य ३० लाखभन्दा कम राखेर विक्री गर्दै आएको छ ।

कम्पनीले अल्टो दुई भेरियन्टमा विक्री गर्दै आएको छ । अल्टो स्टायडर्डको मूल्य २० लाख ९ हजार छ भने अर्को एलएक्सआईको २२ लाख ९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी सेलेरियोको तीन भेरियन्ट उपलब्ध छ । सिजी मोटोकर्पले एसप्रेसो स्टायडर्ड भेरियन्टको २३ लाख ४९ हजार, एलएक्सआई भेरियन्टको २४ लाख ४९ हजार र भिएक्सआई प्लसको २६ लाख ५९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

कम्पनीले केही महिना अघि नेपाल ल्याएको सेलेरियो पनि ३ भेरियन्टमा उपलब्ध छ । सेलेरियो जेडएक्सआई प्लसको मूल्य ३० लाखभन्दा माथि छ भने भिएक्सआईको २७ लाख ९९ हजार र जेडएक्सआईको २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

मारुती सुजुकीको वागेनआरका दुई भेरियन्ट भिएक्सआई अप्सनल १.० लिटर इन्जिको मूल्य २७ लाख ४९ हजार र १.२ लिटर इन्जिन जेडएक्सआईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईको इन्ट्री लेभल ह्याचव्याक कार सेन्ट्रोको विभिन्न तीन भेरियन्ट नेपालमा किन्न पाइन्छ । लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपालमा विक्री गर्दै आएको सेन्ट्रोको इरा भेरियन्टको २५ लाख ९६ हजार, मग्ना भेरियन्टको २७ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको २९ लाख ९६ हजार रुपैयाँ रहेको छ । सेन्ट्रोको मग्ना अटोमेटीक किन्ने ग्राहकले भने ३० लाख ९६ हजार रुपैयाँ खर्च गर्नु पर्छ ।

रेनो क्वीड पनि नेपालमा विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । एड्भान्स अटोमोवाइलले क्वीड आरएक्टी (ओ) को मूल्य २६ लाख ७९ हजार, क्वीड क्लाइम्बरको २७ लाख ८९ हजार र आरएक्टी (ओ) अटोमेटीकको २८ लाख ४९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

हेनरी र डेरी ब्राण्डले विक्री गर्ने कार भने इलेक्ट्री हुन् । दुबै छोटा र साना ह्याचव्याक कारको मूल्य पनि किफायती छ । डेरी इएम–७ को मूल्य २० लाख ५० हजार र हेनरी टाइगर मोडलको मूल्य २२ लाख रुपैयाँ रहेको छ ।


Back_to_top