लाइट कमर्शियल गाडीको बजारमा कोभिडको कस्तो असर ? यस्तो छ कम्पनी अनुसार तुलनात्मक बजार हिस्सा

हाल विश्वमा चलिरहेको कोराना भाइरसको माहामारीले विश्व अर्थतन्त्रलाई पुरै तहसनहस पारिरहेको छ । विश्व बैंकको पछिल्लो अनुमान अनुसार विश्वको जीडीपीमा लगभग ५ प्रतिशतको गिरावट आउने देखिएको छ । संसारका महाशक्ति राष्ट्रहरु समेत कोभिड १९ भाइरसको प्रभावमा परेर सम्हालिन सकिरहेका छैनन् । उद्योग तथा ब्यापार लगायतका प्रायः सबै क्षेत्रहरु यसबाट प्रभावित छन् । संसारका प्राय सबै देशहरु कोरोनाको प्रकोपबाट गुज्रिरहेका छन् । अहिलेको परिस्थिति हेर्दा भविष्यमा विश्व अर्थतन्त्रको अध्ययन गर्दा कोरोनाभन्दा पहिलेको अर्थतन्त्र र कोरोनापछिको अर्थतन्त्र भनेर अध्ययन गरिने छ भन्दा अतियुक्ति नहोला ।

त्यसैगरि मानिसहरुको समाजिक ब्यवहार, हिड्ने डुल्ने, खाने, मनोरञ्जन गर्ने सबै कृयाकलापमा पनि कोरोनापछि र कोरोना अघि भनेर छुट्याइने छ । औषधी के हो भनेर पत्ता नलागुन्जेलसम्म कुनै न कुनै रुपको लकडाउनको पालना गर्नु हाम्रो अभिन्न ब्यवहार हुनेछ । नेपालका बजारहरुमा पनि प्रायः मानिसहरु माक्स लगाएर हिडेका भेटिन्छन् । अनुहार हेरर मानिसहरु पहिचान गर्ने हाम्रा आदतहरु उसको शारीरिक वनावट, कपडा र कपालको अवस्था हेरेर चिन्नु पर्ने तथा उसका आँखाको चाल हेरेर हासेको हो कि होइन भनेर छुट्टयाउनु पर्ने भएको छ ।

कोरोनापछि मानिसका ब्यवहारमा आमुल परिवर्तन भइसकेको छ र यसले गर्दा संसारभरका सबै क्षेत्रमामा पुर्ण असर गरेको छ । तर, यस लेख मार्फत कोरोनाले पारको प्रभावमा नेपालको कमर्शियल गाडीहरु (भाडाका गाडीहरु) को अवस्था कस्तो छ/हुनेछ, त्यस्ता गाडीको कारोबार गर्नेहरुको ब्यापार कस्तो हुनेछ भनेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।

नेपालमा सञ्चालनमा रहेका मुख्य गाडी कम्पनीहरुमा टाटा, आइसार, अशोक लेलैण्ड, महिन्द्रा, भारत बेन्च, फोर्सलगायत छन् । नेपालमा सञ्चालन हुने ९८ प्रतिशत भाडाका सवारी साधनहरु भारतमा निर्माण भएर आउने गरेका छन् । त्यसैगरी अन्य देशमा जस्तो नेपालमा भाडाका सवारी साधनहरु सरकार मातहत सञ्चालन छैनन् । नेपालमा सम्पुर्ण प्रकारका भाडाका साधनहरु निजी क्षेत्रले मात्र सञ्चालन गर्दै आएको छ । भाडाका सवारी साधनहरु भन्ने बित्तिकै बस, ट्रक, टिप्परहरु प्रमुख रुपमा आउछन् । त्यसैगरी पिकअप, बिशेष प्रकारको कामको लागि तयार गरिएका सवारी साधनहरु पनि कमर्शियल गाडीहरुकै मातहत राखिने गरिएको छ ।

नेपालमा कमर्सियल भेहिकल (भाडाका सवारी साधन) हरुलाई खास गरी लाइट कमर्शियल भेहिकल (एलसीभी), बस र ट्रक तथा टिप्पर गरि मुख्य तीन सेग्मेन्टमा बाँडेर अध्ययन गर्ने गरेको पाइन्छ । यस लेखमा पनि उपरोक्त अनुसार नै सेग्मेन्टहरु बाँडेर बजारको अध्ययन गरिएको छ ।

माथि उल्लेखित सबै सेग्मेन्टहरुमा प्रत्येक गाडी उत्पादन गर्ने कम्पनीहरुको बजार हिस्सा (मार्केट शेयर) के कति रहेको छ भनेर क्रमैसँग अध्ययन गरि बिश्लेषण गरिने छ र सोहि अनुसार प्रकाशन पनि गरिदै लगिने छ । नेपालको बजारमा भारतमा निर्माण भएर आउने सवारी साधनको हिस्सा लगभग ९८ प्रतिशत रहेको हुँदा भारतीय आर्थिक वर्षको आधारमा नै नेपालमा पनि आयात वर्ष गणना गर्ने गरिएको पाईन्छ । अर्थात् अंग्रजी महिनाको अप्रिलबाट सुरु भएर मार्चसम्मको १२ महिना गणना गर्ने गरेको पाइन्छ ।

यस लेख मार्फत भाडाका सवारी साधनहरु मध्ये साना सवारी साधनहरु (एलसीभी सेग्मेन्ट) मा रहेको पिकअप गाडीहरुको नेपालमा कुन ब्राण्डको गत वर्ष कस्तो बजार रहेको थियो र यस वर्ष अर्थात्, अप्रिल २०२० देखि जनवरी १५, २०२१ सम्म कोरोना भाइरसको कारण नेपालमा पनि लकडाउन लागू भए पछिको अवस्था विश्लेषण गर्ने प्रयास गरिएको छ । यो बिश्लेषणमा उल्लेख गरिएको तथ्याङ्कहरु आयातमा आधारित भएको हुँदा त्यसैको आधारमा सबै उत्पादनकर्ताहरुको बजार हिस्सा के कस्तो रहेको छ भनि उल्लेख गरिएको छ ।

साना भाडाका सवारी साधन (स्मल कमर्सियल भेहिकल-पिकअप/भ्यान )

केहि वर्ष अघिसम्म पनि टाटा मोबाइलाई मात्र पिकअपको रुपमा हेरिने गरिएको थियो । विस्तारै महिन्द्रा एण्ड महिन्द्राका उत्पादनहरुले बजार लिन थालेसँगै यसको बढोत्तरी भएको पाइन्छ । तर, पछिल्लो समयमा अन्य कम्पनीहरु पनि यो सेग्मेन्टमा आएका छन् । विश्व बजारलाई हेर्ने हो भने भाडाका साना सवारी साधनहरुको बजार दिनानु दिन बढ्दो अवस्थामा देखिन्छ । यो सेग्मेन्टमा भारवहन क्षमताको आधारमा सवारी साधनको बर्गिकरण गर्ने गरको पाइन्छ । साथै, प्रयोगको आधारमा पनि बर्गिकरण गर्ने गरिएको पाइन्छ । यस लेखमा यी दुवै आधारमा के कति सवारी साधन आयात भएका छन् र कुन गाडी उत्पादनकर्ताको तत् तत् सेग्मेन्टमा के कति मार्केट शेयर रहेको छ भनि उल्लेख गरिएको छ ।

(क) सिङ्गल क्याब (४ वाई २ ) १ टन देखि १.५ टनसम्म भारबहन क्षमता भएका साना मालबहाक सवारी साधनहरु (Small Commercial Vehicles) 

यो सेग्मेन्टमा टाटाका एस मोडेलका पिकअपहरु समाबेस गरिएका छन् । महिन्द्रा एण्ड महिन्द्राका सिङ्गल क्याब भएका म्याक्सी पिकअपहरु÷बोलेरो पिकअपहरु, अशोक लेलैण्डका दोस्त मोडेलका पिकअपहरु, मारुतीका सुपर क्यारी पिकअप, फोर्स मोर्टसका टेरेक्स कार्गो किङ्ग, इसुजुका डिम्याक्स पिकअपहरु समाबेस गरिएको छ । यस्ता साना सवारीहरु ग्राहकहरुको घरसम्म सामान डेलिभरी गर्ने अन्तिम सवारीको रुपमा प्रयोग गरिन्छन् ।

यस्ता सवारी साधनहरुको प्रयोग हार्डवेयर पसलबाट समानहरु ग्राहकहरुको घरसम्म पुर्‍याउन, पानीका जारहरु डेलिभरी गर्न, साग सब्जीहरु डेलिभरी गर्न, खाद्यान्नहरु गोदामबाट होलसेल तथा रिटेल गर्ने पसलसम्म पुर्‍याउन आदि जस्ता काममा प्रयोग गर्ने गरिएको पाइन्छ । खासगरी स्वरोजगार ब्यावसायीहरुले यस्ता सवारी साधनहरु खरिद गर्ने गरेका छन् ।

(ख) डबल क्याब पिकअपहरुको नेपालमा कस्तो बजार छ त ?

डबल क्याब पिकअप मानिसहरु बस्न पनि मिल्ने र पछाडि पट्टी समानहरु बोकेर हिड्न पनि मिल्ने प्रकारका हुन्छन् । यो सेग्मेन्टमा रहेका पिकअपहरु नेपालमा निकै रुचाइएको पाइन्छ । पहाडी बाटोहरुमा फोर ह्वील ड्राइभ भएका पिकअपहरु ग्राहकको रोजाईमा पर्ने गरेको पाइन्छ भने, पहाडी भए पनि पिच बाटोमा मात्र सञ्चालन गर्नु पर्ने भएमा सिङ्गल ह्वील ड्राइभ भएका पिकअपहरु ग्राहकले खरिद गर्ने गरिएको पाइन्छ ।

यो सेग्मेन्टमा पर्ने गाडीहरुमा टाटाका एस/एस मेगा/सुपर एस/इन्ट्रा/योद्घा पिकअप, मारुतीका सुपर क्यारी, महिन्द्रा एण्ड महिन्द्राका म्याक्सीमो, सुप्रो म्याक्सीट्रक, बोलेरो पिक अप (१.२५), बिएमटी, फोर्स मोर्टसका ट्रम्प फोर्टी/ट्यारेक्स कार्गो किङ्ग, अशोक लेलैण्डका दोस्त लाइट/दोस्त प्लस/दोस्त स्ट्रङ्ग, इसुजु मोर्टसका डिम्याक्स आदि पर्छन् ।

महिन्द्रा एण्ड महिन्द्राका गाडीहरु दुगड ब्रदर्श एण्ड सन्स र अग्नी इन्कर्पोरेटले विक्री गर्ने गरेका छन् । माथि उल्लेखित १३४० थान मध्ये ८०० थान बोलेरोे पिकअप अग्नी इन्कर्पोरेटले आयात गरेको हो र बाँकी ५४० थान दुगड ब्रदर्श एण्ड सन्सले आयात गरेको देखिन्छ । कोरोनाको कहरको समयमा टाटा मोर्टसले सुरुका केहि महिनामा राम्रो बिक्री गर्न नसके पनि दशै पछि भने राम्रो संख्यामा साना पिकअपहरु विक्री गर्न सकेको देखिन्छ र २०७७ पुष मसान्तसम्ममा ८.२८ प्रतिशतले आफ्नो बजार सुधार गरेको पाइन्छ ।

महिन्द्रा एण्ड महिन्द्राको मार्केट शेयर भने ७.०६ प्रतिशतले घटेको देखिन्छ । यसरी मार्केट घट्नुमा दुगड ब्रदर्श एण्ड सन्सले विक्री गर्ने १ टनभन्दा कम क्षमताका म्याक्सीमो प्लस, सुप्रो म्याक्सी पिकअपको सेल्स घटेकोले मार्केट शेयर गुमाउन पुगेको देखिन्छ ।

आईएमई मोर्टसले विक्री गर्ने गरेको अशोक लेलैण्डका पिकअपहरुको पनि मार्केट शेयर २.०५ प्रतिशतले घटेको देखिन्छ । इसुजु मोर्टसको सेल्स दशै अघिसम्म राम्रो देखिए पनि दशैपछि भने टाटा मोर्टसको जस्तो राम्रो सेल्स हुन नसकेको कारण मार्केट शेयर १.७७ले गुमाएको देखिन्छ । इसुजु मोटर्सले सिङगल क्याब पिकअप (४ वाई २) सेग्मेन्टमा १.५ टन पेलोड मात्र भएकोले पनि बजार बिस्तार गर्न अप्ठ्यारो भएको देखिन्छ ।

कोरोनाको कहरका बीचमा पनि फोर्स मोर्टसले यो सेग्मेन्टमा आफ्नो मार्केट शेयर ४.१५ प्रतिशतले बढाउन सफल भएको देखिन्छ । फोर्स मोर्टसको ट्रम्प ४० एचएसडीको विक्री राम्रो नभए पनि १.५ टन पेलोड सेग्मेन्टमा फोर्स टेरेक्स कार्गाे किङ्गको विक्री धेरै राम्रो भएको देखिन्छ । फोर्स मोर्टसले यस अवधिमा आयात गरेको जम्मा १०७ थान पिकअप मध्ये १०० थान पिकअप टेरेक्स कार्गाे किङ्गको रहेको छ । यस्ले गर्दा फोर्स मोटर्सको मार्केट शेयर बढेको देखिन्छ ।

मारुतीको सुपर क्यारीको आयात लगभग भएको छैन भने पनि हुन्छ । दश महिनाको समयमा जम्मा २२ थान मात्र आयात भएको देखिन्छ । यो सेग्मेन्टमा ६ वटा कम्पनीले गाडीहरु आयात गर्ने गरेको भए पनि टाटा मोर्टस र महिन्द्रा एण्ड महिन्द्राको नै बजारमा दबदबा रहेको पाइन्छ । फोर्स र इसुजुको भन्दा प्रोडक्ट भेरियन्ट भएर पनि अशोक लेलैण्डले बजार विस्तार गर्न नसकेको देखिन्छ ।

(ग) कार्गो भ्यान नेपालको बजार छ त ?

नेपालमा सर–सामानहरु ढुवानी गर्न साना सवारी साधनहरुको सेग्मेन्टमा नै कार्गो भ्यानहरुको पनि प्रयोग भएको पाइन्छ । यस सेग्मेन्टमा मारुती सुजुकी, महिन्द्रा र फोर्स कम्पनीका उत्पादनहरु मात्र नेपालमा आयात भई विक्री हुने गरेका छन् । लगभग चार यसको मार्केट साइज भएको यस सेग्मेन्टमा धेरै ठूलो सम्भावना रहेको देखिन्छ । खासगरि पानीले भिजेर बिग्रिने सम्भावना भएका सामानहरु ढुवानी कार्यमा यस्ता कार्गो भ्यानहरु प्रयोग हुने गरेका छन् । यो सेग्मेन्टमा मारुती सुजुकीको एकलौटी बजार रहेको छ र यो नियमित यो बर्ष पनि ९७.४७ प्रतिशत बजार हिस्सा मारुती सुजुकीले लिने पक्का पक्की देखिन्छ ।

 

माथिका सबै डाटाहरुलाई संयुक्त रुपमा राखेर हेर्दा नेपालको सामान ढुवानी गर्ने प्रयोजनको लागि खरिद बिक्री हुने साना सवारी साधनहरुको र पिकअपहरुको मार्केट शेयर माथि राखिएकाे चार्ट अनुसार रहेको पाइन्छ । (लेखक शिवाकोटी नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालका कार्यसमिति सदस्यसमेत हुन्)


Back_to_top