चल्तीको सेग्मेन्टमा आउने भयो नयाँ इलेक्ट्रीक एसयूभी, रेन्ज ४४० किलोमिटर

काठमाडौं । सानो, छरितो र स्मार्ट डिजाइनमा तयार भएको ‘स्मार्ट-वान’ इलेक्ट्रीक क्रसओभर नेपाल आउने पक्का भएको छ । सिजी मोटर्सले स्मार्ट ब्राण्डका इलेक्ट्रीक उत्पादन नेपाल ल्याउन सम्झौंता गरिसकेको छ भने, पहिलो मोडल स्मार्ट-वान (#1) आउने बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा फक्सवागेन आईडी-३, हुन्डाई कोना, स्कोडा इन्याक, किया सोल, बीवाइडी एटो-३ जस्ता मोडलसँग यसले सिधा प्रतिस्पर्धा गरिरहेको छ । त्यसैले पनि यसको नेपाल प्रबेश निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।

सन् २०२२ को अप्रिल ७ मा पहिलो पटक आएको स्मार्ट वान क्रसओभर मोडल यहि वर्ष वेलायतमा पनि बिक्री सुरु भएको छ । राइट ह्याण्ड ड्राइभमा बिक्री सुरु भइसकेको कारण चाँडै नेपाली बजारमा पनि बिक्री सुरु हुने अनुमान लगाउन सकिन्छ ।

स्मार्ट वानमा २०० किलोवाट क्षमताको मोटर रहेको छ । निकै पावरफुल मोटरमा आउने कार रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुन्छ । जसको कारण यसको ड्राइभिङ डाइनामिक्स उत्कृष्ट रहेको बेलायती मिडिया टेष्ट ड्राइभमा उल्लेख गरिएको छ ।

कम्पनीले यसमा ६६ किलोवाट आवरको निकेल कोवाल्ट म्याग्नेसिस ब्याट्रीप्याक दिएको छ । यसलाई सिंगल चार्ज गर्दा ४४० किलोमिटरसम्म चलाउन सकिने विभिन्न परिक्षणबाट देखिएको छ ।

स्मार्ट वान ईभीको अर्को रोचक पक्ष के छ भने यसले २२ किलोवाट क्षमतासम्मका एसी चार्जर सपोर्ट गर्ने क्षमता राख्छ । साथै, यसले १५० किलोवाट क्षमताको डिसी चार्जर पनि सपोर्ट गर्नेछ । डिसी चार्जरले ३० मिनेटभन्दा कम समयमा १० वाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्नेछ ।

‘सस्टेनेवल एक्सपिरीयन्स आर्किटेक्चर’मा बनेको स्मार्ट वानको लम्बाई ४२७० एमएम, चौडाई १८२२ र उचाई १६३६ एमएम रहेको छ । साइजका हिसावले बजारमा उपलब्ध क्रेटा, सेल्टोस, एटो-३, एमजी जेडएस ईभी बराबर रहेको छ । यसमा २७५० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

सुरक्षाको हिसावले निकै स्मार्ट फिचरहरु उपलब्ध यो एसयूभीले यूरो एनक्याव क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ । चिनियाँ बजारमा यो ईभीको मूल्य करिब २५ हजार डलर रहेको छ ।


Back_to_top