२४ घण्टामै लाइसेन्स दिन सुरू, सेवाग्राहीले यसरी पाउनेछन्

काठमाडौं । यातायात व्यवस्था विभागले २४ घण्टा भित्रै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउन थालेको छ । विभागले नयाँ आवेदक (ट्रायल पास भएका र नवीकरण)लाई राजस्व तिरेको २४ घण्टा भित्रै लाइसेन्स दिन सुरू गरेको हो ।

विभागका निर्देशक केशव खतिवडाले बुधबारदेखि ट्रायलका रूपमा राजस्व तिरेको २४ घण्टा भित्रै लाइसेन्स उपलब्ध गराउने सेवा सुरू गरिएको बताए । उनले आगामी सोमबारदेखि नियमित रूपमै २४ घण्टा भित्र लाइसेन्स उपलब्ध गराइने बताए ।

उनका अनुसार बुधबार देशभरबाट २ हजार ९३३ थान र बिहीबार ३ हजार १५५ जनाले लाइसेन्सको राजस्व तिरेका थिए । बुधबारको लाइसेन्स केन्द्रबाट छापिएर आइसकेको र सम्बन्धित कार्यालयमा पठाइएको उनले बताए ।

‘विभागले बुधबारदेखि ट्रायलको रूपमा राजस्व तिरेको २४ घण्टा भित्रै लाइसेन्स उपलब्ध गराउने सेवा सुरू गरेको थियो । ट्रायल सफल भयो । अब सोमबारदेखि नियमित रूपमा २४ घण्टा भित्र लाइसेन्स दिन्छौं । सेवाग्राहीले जहाँबाट आवेदन दिन्छन् सोही कार्यालयबाटै पाउने छन् ,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार हाल देशभरका ४२ वटा यातायात कार्यालयले लाइसेन्स सम्बन्धी सेवा दिँदै आएका छन् । ती कार्यालयहरूले हरेक दिन (सार्वजनिक बिदा बाहेक) राजस्व तिरेका सेवाग्राहीको विवरण अनलाइन प्रणालीमा इन्ट्री गर्नेछन् । सबै कार्यालयको तथ्यांक विभागको केन्द्रीय प्रणालीमा आइपुग्नेछ । विभागले हरेक दिन ५ बजे सबै तथ्यांक जम्मा गरी ६ बजेभित्र मुद्रण केन्द्रलाई उपलब्ध गराउने उनले बताए ।

विभागले यसअघि बनेपास्थित मुद्रण केन्द्रमा भौतिक रूपमा डाटा पठाउने गरेको थियो । अहिले उक्त झन्झट समेत हटाएको छ । विभागले अहिले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) विकास गरी सोही नेटवर्क मार्फत डाटा पठाउँछ ।

विभागले पठाएको डाटा अनुसार केन्द्रले रातभर लाइसेन्स छापेर भोलिपल्ट विभागमा ल्याइदिन्छ । छापिएर आएको लाइसेन्स विभागले सोही दिन हुलाक मार्फत देशभरकै सम्बन्धित कार्यालयहरूमा पठाउने निर्देशक खतिवडाले बताए ।

अधिकांश कार्यालयका सेवाग्राहीले राजस्व तिरेको भोलिपल्टै लाइसेन्स पाउने उनले बताए । यद्यपि, हुलाकमार्फत पठाउँदा केही कार्यालयमा लाइसेन्स पुग्न ढिलाइ हुनसक्ने उनले बताए । त्यस्ता, कार्यालयका सेवाग्राहीले पनि २ दिन भित्र लाइसेन्स पाउने उनको भनाइ छ । एकैदिनमा सबै कार्यालयहरूमा लाइसेन्स पुर्याउने बारे हुलाक सेवा विभागसँग छलफल भइरहेको उनले बताए ।

‘अब नयाँ सेवाग्राहीले राजस्व तिरेको २४ घण्टा भित्रै लाइसेन्स छापिएर आइसक्छ । अधिकांश कार्यालयका सेवाग्राहीले भोलिपल्टै पाउँछन् । हुलाकमार्फत पठाउँदा केही ढिलाह हुन पुगेमा पर्सीपल्टसम्म पाउने छन् । त्यहाँभन्दा ढिला हुँदैन,’ उनले भने ।

गत चैत १३ गतेको बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा स्वीकृत गर्दै हुलाक मार्फत घरघरमै लाइसेन्स उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसका लागि आवश्यक छलफल भइरहेको निर्देशक खतिवडाले बताए । साथै, अब चाँडै नागरिक एपबाटै लाइसेन्सको आवेदन दिने व्यवस्था गर्न लागिएको उनले बताए ।

असारसम्म सबैले पाउने

विगत ४ वर्षदेखि (सन् २०२२ मेदेखि) लाइसेन्स पाउन नसकेका सबै सेवाग्राहीले पनि आगामी असार मसान्तसम्म लाइसेन्स पाइसक्ने निर्देशक खतिवडाले बताए ।

उनका अनुसार ब्याकलग लाइसेन्स २९ लाख थियाे । सोमध्ये १२ लाख यही वैशाख १२ गते भित्र छापिसकिने छ । तीमध्ये ५ लाख छापेर वितरण समेत गरिसकेकेा उनले जानकारी दिए । बाँकी १७ लाख असारसम्म छाप्ने गरी सुरक्षण केन्द्रसँग आज सम्झौता गर्न लागिएको उनले बताए ।

‘असारसम्म सबै सेवाग्राहीले लाइसेन्स पाइसक्ने छन् । बाँकी १७ लाख छपाइका लागि आज मुद्रण केन्द्रसँग सम्झौता गर्दैछौं,’ उनले भने, ‘साउनदेखि लाइसेन्स पाइन भन्ने व्यक्ति हुँदैनन् । कसैले रसिद बोकेर हिँड्नु पर्दैन । यो समस्या सधैंका लागि अन्त्य हुन्छ ।’

अर्थमन्त्रालयले ब्याकलग लाइसेन्स छपाइका लागि साढे ३७ करोड रुपैयाँ बजेट समेत निकासा गरिसकेको छ ।


Back_to_top