काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को समन्वयमा हाइब्रिड सवारी साधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ ।
टोयोटाका नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिको प्राविधिक सहयोगमा काठमाडौंको कमलपोखरीमा उक्त तालिम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इन्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू, ट्राफिक, चालकसहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति थियो ।
जहाँ हाइब्रिड सवारी साधन प्रविधि सम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको हो। तालिमका सहभागीहरूले हाइब्रिड सवारी साधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेका छन्।
सहभागीहरूले गत चैत्र महिनामा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतीय सवारीसाधन संयन्त्र सम्बन्धी ३ दिने तालिममा पनि सहभागिता जनाएका थिए। साथै, हाइब्रिड सवारीसाधन संयन्त्रमा केन्द्रित नाइमा मोबिलिटी संवाद कार्यक्रममा समेत सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए।
यसरी, विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको नाइमाले जनाएको छ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्राविधिक शिक्षा र विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले माग र उपलब्ध स्रोतका आधारमा यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा निरन्तरता दिइने जानकारी दिए ।
सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारी सम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषयलाई प्राथमिकतामा राखिने र आवश्यक प्रक्रियाहरू अघि बढाइने जानकारी दिए । उनले नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस्ता सवारी सान्दर्भिकता बढ्दै गएको उनको भनाइ छ ।
बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले नाइमाको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे ।
वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक र उपयोगी तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा र्पुयाउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । हाइब्रिड सवारीलाई उन्नत प्रविधिका रूपमा उल्लेख गर्दै उनले यस बारेको प्राविधिक ज्ञान र सीपको विकास अझ आवश्यक रहेको बताए ।


