काठमाडौं । बुटवल-नारायणगढ सडक अन्तर्गत पूर्वीखण्ड (नारायणगढ-दाउन्ने)मा ३३ वटा नयाँ पुल निर्माण सम्पन्न भएको छ । यसखण्डमा १२ ठूला र २२ साना पुल निर्माण सम्पन्न भएका हुन् ।
बुटवल-नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले आजदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको २४५ मिटर लामो नयाँ पक्की पुल संचालनमा आएको जानकारी दिए ।
यससँगै पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भई यातायात संचालन गरिएको उनले बताए । २ वर्षअघि विनयी खोलामा रहेको फलामे पुल भत्किएपछि अस्थायी डाइभर्सन सडकमार्फत यातायात संचालन हुँदै आएको थियो ।
उनले पूर्वीखण्डका सबै २११ वटै कल्भर्ट समेत निर्माण पूरा भएको जानकारी दिए । ‘बुटवल-नारायणगढ सडको पूर्वीखण्डको सबै पुल र कल्भर्ट निर्माण सकिएको छ । यसखण्डमा १२ ठूला र २२ साना पुल निर्माण सम्पन्न भएका छन् । त्यस्तै, २११ कल्भर्टसमेत पूर्ण रूपमा सम्पन्न भइसकेका छन्,’ उनले भने ।
उनका अनुसार ६५ किमी लामो यो खण्डको सडक निर्माण समेत अन्तिम चरणमा पुगेको छ । गैँडाकोटदेखि दुम्कीबाससम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने खण्डको मात्र काम बाँकी रहेको छ । अन्य क्षेत्रको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
यो सडकको भौतिक प्रगति ८१ प्रतिशत पुगेको उनले बताए । अन्तिम पटक थपिएको म्याद आगामी साउन ७ गतेसम्म छ । यो सडक विस्तार ४२ महिना भित्र काम सक्ने गरी २०७५ माघदेखि सुरू गरिएको थियो ।
सुरूमा तोकिएको म्याद अनुसार यो सडक २०७९ साउन २२ भित्र सक्नुपर्थ्यो । तर, तोकिएको अवधिमा काम नसकिएपछि हरेक वर्ष साउनमा सरकारले १/१ वर्ष म्याद थप्दै आएको छ । थपिएको म्याद भित्रै काम सम्पन्न हुने उनले बताए ।

