बीवाइडीले पूरा गर्यो १ करोड ६० लाख एनईभी उत्पादनको माइलस्टोन

काठमाडौं । चनियाँ अटोमोबाइल उत्पादक बीवाइडीले १ करोड ६० लाख न्यू इनर्जी भेहिकल (एनईभी) उत्पादनको माइलस्टोन पूरा गरेको छ ।

कम्पनीले शुक्रबार दोस्रो पुस्ताको डेन्जा डी नाइन एमपीभीको पहिलो युनिट रोलआउट गर्दै उक्त उपलब्धि हासिल गरेको हो ।

कम्पनीले पछिल्लो ४ महिना (१२० दिनमै) थप १० लाख युनिट एनईभी उत्पादन गरेको हो । कम्पनीले सन् २०२५ डिसेम्बर १८ मा १ करोड ५० लाखौं एनईभी उत्पादन पूरा गरेको थियो ।

बीवाइडीले डिसेम्बर २००८ मा आफ्नो पहिलो एनईभी मोडल उत्पादन गरेको थियो । मे २०२१ सम्ममा मात्र यसको १० लाखौं एनईभी उत्पादन भएको थियो । त्यसयता, उत्पादन र बिक्री दुवै क्षेत्रमा यसको गति उल्लेख्य रूपमा बढेको छ।

२०२४ नोभेम्बर १८ मा कम्पनीले १ करोडौं सवारी साधनको कोशेढुङ्गा पार गरेको थियो । १ करोडबाट १ करोड ५० लाख सवारी साधन पुग्न केबल १३ महिना लागेको थियो।

चीनको शेन्जेनमा मुख्यालय रहेको बीवाइडी विश्वकै ठूलो अटोमोबाइल कम्पनी समेत हो । यसले प्योर इलेक्ट्रीक र प्लगइन हाइब्रिड सवारी उत्पादन गर्दै आएको छ ।

कम्पनीले पछिल्लो केही वर्ष यता आफ्नो क्षमता बढाउँदै उत्पादन तीव्र बनाएको छ । यद्यपि यो वर्ष वृद्धिको गति केही सुस्त भएको छ।

नेपालमा पनि बीवाइडी सर्वाधिक ईभी बेच्ने कम्पनी हो । साइमेक्स इंकले बीवाइडीका आधादर्जन बढी मोडल बिक्री गर्दै आएको छ ।


Back_to_top