काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइलखोलामा पहिरो नियन्त्रणका लागि विशेष प्रविधि अपनाइने भएको छ ।
तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि सडक डिभिजन कार्यालय, भरतपुरले ‘नेलिङ’ (किला/रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाएर पहिरो नियन्त्रणको दीर्घकालीन समाधान गर्ने भएको हो ।
तुइनखोलामा वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने गरेको छ । अहिले तुइलखोलामा माथिबाट खस्ने ठूला ढुंगा काटेर पन्छाउने काम भइरहेको कार्यालयका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेले बताए ।
उनले यसपछि पहिरो नियन्त्रणका लागि ‘नेलिङ’ प्रविधि अपनाइने बताए । साथै, रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ र बायोइन्जिनियरिङ प्रविधि प्रयोग उनले बताए ।
इन्जिनियर लामिछानेले १ महिनाभित्र नेलिङको काम गर्ने तयारीमा रहेको बताउँदै माथिका ठूला ढुंगा पन्छाएपछि सडक अवरुद्ध हुने अवस्था नआउने जानकारी दिए ।
‘७ दिनयता माथिका ठूला ढुंगा काटेर फाल्ने काम भइरहेको छ । ठूला ढुंगा काटेर पन्छाएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अघि बढाउने तयारीमा छौँ,’ उनले भने, ‘मुख्य रूपमा यहाँ नेलिङ प्रविधि प्रयोग गरिनेछ । स्लोपको अवस्था हेरेर डाइमेन्सनल नेट प्रयोग गर्ने र बायोइन्जिनियरिङलाई प्राथमिकता दिने योजना छ ।’
उक्त खण्डमा बिहान ८:३० देखि बेलुकी ६ बजेसम्म प्रत्येक दुई घण्टाको समयमा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गर्ने गरिएको छ । बेलुकी ६ देखि बिहान ८ बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन भइरहेका छन् ।


