काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा खनिएको नयाँ ट्रयाकबाट सवारी साधन संचालन गरिएको छ ।
सडक सम्याउने काम सकिएसँगै आइतबार अपराह्न परीक्षणको रूपमा खाली ग्यास बुलेट, ट्रिपर लगायत सवारी साधन गुडाइएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार काठमाडौंबाट चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ। त्यसैगरी, चितवनबाट काठमाडौं तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको छ।
यद्यपि, सडक पूर्ण रूपमा संचालनमा आउन भने अझै केही दिन लाग्नेछ । भदौ १४ गते त्रिशूलीमा आएको बाढीले सडक कटान गरेसँगै पृथ्वी राजमार्ग १५ दिनदेखि बन्द । पुरानो सडकभन्दा माथिबाट २५२ मिटर लामो नयाँ ट्रयाक खोलिएको हो ।
उक्त सडक दुई लेनको बनाइ संचालनमा ल्याउन भदौ २० देखि धमाधम काम भइरहेको छ । नयाँ ट्रयाक सम्याउने काम सकिए पनि ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी रहेको छ । सडक सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा अघि बढिरहेको छ। बाँकी कामलाई तीव्रता दिई भदौ भित्रै सवारी साधन संचालनमा ल्याउने लक्ष्य छ ।
सुरुमा रोकिएका ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारी संचालन गराउने गरी सडक तयार पार्ने काम भइरहेको छ ।


