काठमाडौं । विद्युतीय कार नेपालमा ‘एक्सिडेन्टल्ली’ सेकस भएको हो भन्ने धेरै मानिस भेटिन्छन् । तर, निजी कारको रूपमा प्रयोग हुने विद्युतीय गाडी मूल्यकै कारण नेपालमा सफल भएको हो ।
पेट्रोलियम पदार्थबाट चल्ने कारमा लाग्दै आएको उच्च करका दरको अगाडि ईभीमा नगन्य मात्रै कर लाग्दा उपभोक्ताको आकर्षण ईभीमा बढेको हो । सन् २०२३ सम्म पावर विन्डो, ड्यूल जोन एसी, लेदर र्याप स्टेयरिङ ह्वील जस्ता फिचर किन्न अतिरिक्त पैसा खर्च गर्नु पर्ने अवस्था थियो ।
ईभीमा २५ लाख रुपैयाँ तिर्दा नै एडास भित्रका फिचर, ३६० डिग्री क्यामेरा आधा दर्जन सेन्सर, ठूलो स्क्रीन, डिजिटल इन्फर्मेसन डिस्प्ले, लेदर सिट जस्ता फिचर पाउन थालियो । यसले पेट्रोलियम पदार्थबाट चल्ने कारलाई फिक्का बनायो ।
नेपालमा ईभीको प्रयोग व्यापक बन्दै गयो । तर, एउटा समय निकै सफल भएको मोडल नयाँ जेनेरेशनमा आएपछि नेपाल आएको छैन । खासगरी, नेपाली बजारमा निकै सफल भएको बीवाइडी एटो थ्री र डल्फिन अहिले चीनमा नयाँ जेनेरेसन मोडलको रूपमा बिक्री हुँदै आएको छ ।

हुन्डाईको नयाँ जेनेरेसन कोना सन् २०२४ को अन्तिम तिर नै विश्व बजारमा बिक्रीमा आएको हो । नेपालमा धेरै उपभोक्ताको रोजाइमा परेको पहिलो सफल ईभी मोडल कोना ईभीको नयाँ जेनेरेशन मोडल नै अहिलेसम्म बिक्रीको लागि नेपाल आएन ।
किन आएनन् नेपाल ?
माथि नै उल्लेख गरे अनुसार ईभीको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा हुन्डाई कोना ईभी जस्तो उत्पादन महँगो मूल्यकै कारण बिक्रीको लागि उपलब्ध नभएको अनुमान लगाउन सकिन्छ ।
एक वर्ष अगाडि ४५ लाखमा बिक्री थालिएका चिनियाँ ईभीहरू अहिले ४० लाखमै उपलब्ध हुन थालेका छन् । यस्तोमा पहिलोको भन्दा महँगो मूल्य पर्ने भएपछि कोना जस्ता ईभी नेपाल नआएको हो ।

बीवाइडीको नयाँ जेनेरेशन एटो थ्री पनि पहिलेको एटो थ्रीको तुलनामा धेरै महँगो हुने भएको कारण नआएको सहजै अनुमान लगाउन सकिन्छ । बीवाइडीले ठूलो साइज, ठूलो ब्याट्री र फ्ल्यास चार्जिङ सपोर्ट गर्नेगरी नयाँ जेनेरेसन एटो थ्री चीनमा बिक्री गर्दै आएको छ ।
यस्तोमा महँगो मूल्य तिरेर एटो थ्री उपभोक्ताले किन्लान् वा नकिल्न एकिन छैन । त्यसैले आधिकारिक बिक्रेता साइमेक्स इंकले पहिलेकै एटो थ्री एड्भान्स मोडल ल्याएर बिक्री गर्दै आएको छ । नयाँ जेनेरेसन एटो थ्री कहिले नेपाल आउँछ एकिन जानकारी बाहिर आएको छैन ।

बीवाइडी डल्फिन पनि नेपालमा निकै सफल मोडल हो । कम्पनीले चीनमा नयाँ जेनेरेसन डल्फिन बिक्री थालेको भएपनि नेपाल आएको छैन ।
यसका अलावा नेपालमा सफल मोडल एमजी जेडएस ईभीको बिक्री नै बन्द भयो । पारामाउन्ट मोटर्सले जेडएस ईभीको सट्टा एमजी एस फाइभ एसयूभी ल्याएर बिक्री वितरण गर्दै आएको छ ।


